काठमाडौं–सिक्किम उडानका लागि अध्ययन गर्दै बुद्ध एयर

पाक्योङ एयरपोर्टको उडान सम्भाव्यता अध्ययन गर्न टोली सिक्किममा

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

बुद्ध एयरले काठमाडौं–सिक्किम उडानको तयारी थालेको छ । सिक्किमको पाक्योङ विमानस्थलमा नियमित उडान सम्भाव्यता अध्ययन गर्न बुद्ध एयरको तीन सदस्यीय टोली सिक्किम पुगेको छ । अध्ययन टोलीमा बुद्ध एयरका उदयकृष्ण श्रेष्ठ, ओम प्रधानांग र जीवन बस्नेत छन् ।

पाक्योङ विमानस्थलको प्रस्तावमा उडान सम्भाव्यता अध्ययन थालेको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । ‘नियमित उडान थाल्न पाक्योङ विमानस्थलले प्रस्ताव गरिरहेको छ, उतैबाट काठमाडौं–सिक्किम उडान थाल्न प्रस्ताव आएपछि बुद्ध एयरको टोली अध्ययनका लागि गएको छ,’ उनले भने, ‘विस्तृत अध्ययन प्रतिवेदन आएपछि बल्ल उडान गर्ने वा नगर्ने निर्णय हुनेछ ।’ अध्ययन रिपोर्ट आगामी साताभित्र आउने उनको भनाइ छ ।

बुद्ध एयरलाई उडानको प्रस्ताव आए पनि पाक्योङ विमानस्थल उडान चुनौतीपूर्ण रहेको जोशीले बताए । विमानस्थल अग्लो डाँडामा छ । भारतका अग्लो स्थानमा रहेका विमानस्थलमध्ये पाक्योङ पाँचौँ नम्बरमा पर्छ । यो विमानस्थल १४ सय १६ मिटर उचाइमा छ । १७ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थल मौसमका हिसाबले पनि चुनौतीपूर्ण रहेको बताइन्छ । यो विमानस्थल पाँच वर्षअघि सञ्चालनमा आएको हो ।

बुद्ध एयरले भौगोलिक संरचना, सञ्चालन खर्च, लोड पेनाल्टी, धावनमार्ग, मौसमी अवस्था, यात्रु अवस्थालगायत विषयमा विस्तृत अध्ययन भइरहेको जनाएको छ । ‘अध्ययन प्रतिवेदन नआउँदै अहिले नै यसै भन्न सकिन्न,’ जोशीले भने, ‘उडानयोग्य प्रतिवेदन आएमा यात्रुको मागअनुसार सातामा दुई वा तीन उडान गर्न सकिन्छ ।’  

अहिले बुद्ध एयरले भारतको बनारस र कोलकातामा उडान गर्दै आएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस, कोलकाता र देहरादुन उडानका लागि तयारी गरे तापनि भारतीय पक्षले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन । 

सुझावित समाचार