अर्को वर्ष अमेरिकाले फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । फिफाले पहिलोपटक क्लब विश्वकपमा सर्वाधिक ३२ टोलीलाई सहभागी गराउँदै छ । जसमा युरोपका १२ टोली हुनेछन् । सबै महादेशका च्याम्पियन र उत्कृष्ट क्लबबीच हुने प्रतिस्पर्धामा युरोपबाट युरोपियन च्याम्पियन लिग विजेता रियल म्याड्रिडलाई मुख्य दाबेदार मानिएको छ ।
रियलले अमेरिकामा आयोजना हुने प्रतियोगितामा सहभागिता नजनाउने चेतावनी दिएको छ ।
दुई साताअघि कीर्तिमानी रूपमा १५औँपटक च्याम्पियन्स लिग उपाधि दिलाएका रियलका प्रशिक्षक कार्लोस एन्सेलोटीले क्लब विश्वकपमा भाग नलिने धम्की दिएका छन् । अमेरिकामा प्रतियोगिता चल्दा एक खेलबाट आउने क्लबलाई फिफाले नदिने जनाएको छ । यसअघि फिफाले एक खेलमा प्राप्त हुने रोयल्टीलगायत अन्य रकम सहभागी क्लबलाई दिँदै आएको थियो ।
तर, यसपटक फिफाले शतप्रतिशत रकम नदिने जनाएको छ । यसकारण नै उपाधि दाबेदार रियलले अमेरिकामा सन् २०२५ को जुन–जुलाईमा हुने फिफा क्लब प्रतियोगितामा भाग नलिने प्रशिक्षक एन्सेलोटीले जनाए । ‘सबैलाई थाहा छ, एक खेलको रकम कति हुन्छ । तर, क्लबले पाउनुपर्ने रकम फिफाले दिन आनाकानी गरेको छ,’ उनले भने, ‘रियलको एउटा खेलको मूल्य कति छ, सबैलाई थाहा छ ।’
एक खेलको १० मिलियन युरो
फिफा क्लबले पाउनुपर्ने सुविधालगायत अन्य रकम फिफाले नदिँदा प्रतियोगिता रियलबाहेक अन्य क्लबले पनि भाग लिन नसक्ने उनको भनाइ छ । ‘फिफाले रकम नदिए हामीजस्तै अन्य क्लबले पनि निमन्त्रणा अस्वीकार गर्न सक्छन्,’ एन्सेलोटीले भने । रियलले सामान्यतया युइएफए खेल्दा प्रतिखेलबाट १० मिलियन युरो कमाउँछ ।
क्लब विश्वकप फुटबल प्रतियोगितामा एन्सोलोटी सर्वाधिक सफल प्रशिक्षक हुन् । उनले तीनपटक उपाधि जितेका छन् । पाँचपटक च्याम्पियन्स लिग विजेता प्रशिक्षक एन्सेलोटीले फिफाले फुटबलरको मर्म नबुझेको आरोप लगाएका छन् । ‘यतिवेला फिफा हामी फुटबलर र क्लबका मर्म बुझेजस्तो लाग्दैन,’ इटालीबाट प्रकाशित पत्रिका अन्तर्वार्ता दिँदै उनले भने, ‘रियलको एक खेलको भ्यालु २० मिलियन युरो रहेको छ, जुन फिफाले व्यहोर्नुपर्छ ।’