अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसलाई सम्झौता नवीकरणको प्रस्ताव गरेको छ । मुख्य प्रशिक्षक भिसेन्जो स्वयंले यमनविरुद्धको खेलअगाडि आयोजित पत्रकार सम्मेलनमा एन्फाबाट नवीकरणको प्रस्ताव आएको खुलासा गरेका हुन् । ‘सम्बन्धित निकायबाट प्रस्ताव आएको छ,’ उनले भने, ‘मैले रिभ्युका लागि एन्फासँग कुराकानी गरेको छु ।’
एन्फा र उनीबीचको सम्झौता १५ जुनमा सकिँदै छ । उनको एक वर्षको सम्झौता तीन महिनाअघि सकेको थियो । तर, एन्फाले सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरण छनोट खेललाई मध्यनजर गरी उनको सम्झौता नवीकरण गर्यो । पछिल्लोपटक एन्फाले तीन महिनाका लागि मात्र समय थप गरेको हो । यही सम्झौताको अवधि आगामी शनिबार सकिँदै छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिसेन्जोको सम्झौता आगामी शनिबार सकिँदै छ । तर, साउदी अरबको दमाममा आयोजित पत्रकार सम्मेलनमा उनले एन्फाबाट सम्झौताको प्रस्ताव आएको दाबी गरे ।
एन्फाले नयाँ प्रशिक्षक नियुक्त गर्न कुनै सूचना प्रकाशित गरेको छैन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले भिसेन्जोलाई निरन्तरता दिने प्रयासमा रहेका छन् । एन्फाले उनलाई एसियन कप छनोटसम्म राख्ने तयारीमा छ । उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गतिलो नतिजा निकाल्न सकेको छैन । यसै कारण एन्फाभित्र उनलाई निरन्तरता गर्नु नहुने एक पक्ष छ ।
कुवेतका अल्मुतारीको राजीनामापछि भिसेन्जो मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् । नेपालले विश्वकपअन्तर्गत दोस्रो चरणको एसियन छनोटमा अहिलेसम्म पाँच खेल खेलेको छ । जसमा एक जित पनि निकाल्न सकेको छैन । नेपालले विपक्षी पोस्टमा गोल फर्काएको छैन ।
चार खेलमा मात्र विजयी
उनको प्रशिक्षणमा नेपाल समग्रमा १८ मध्ये ११ अन्तर्राष्ट्रिय खेलमा पराजित भएको छ । नेपालले चार जित र तीन खेलमा बराबरी नतिजा हात पारेको छ । नेपालले विपक्षी पोस्टमा १० गोल गर्दा ३५ गोल व्यहोरेको छ । भिसेन्जोले २२ खेलाडीले डेब्युको अवसर दिएका छन् । एन्फाका महासचिव किरण राईले पनि मुख्य प्रशिक्षकसँगको सम्झौता अन्तिमतिर पुगेको बताएका छन् । एन्फाले १७ फागुन ०७९ मा भिसेन्जोलाई नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । पदपूर्ति समितिको सिफारिसविना नियुक्ति गरेको एन्फाले गरेको थियो । युइएफए प्रो लाइसेन्स प्राप्त भिसेन्जोको पारिश्रमिक दक्षिण कोरिया फुटबल संघले अनुदान दिँदै आएको छ ।
साउदी अरबको दमाममा आयोजित पत्रकार सम्मेलनमा भिसेन्जोले एन्फासँग कुनै समस्या नभएको बताएका छन् । ‘दुई पक्षबीच वार्ता भइरहेको छ । ‘त्यसैले अहिलेलाई यो ठूलो समस्याजस्तो लाग्दैन,’ उनले भने । गत मंसिरमा यमनसँगको विश्वकप छनोट खेलपछि उनले नेपाल बस्ने रहर भएको जनाएका थिए । उनले यही भनाइ पुनः बोलेका छन् । ‘मलाई नेपालमा बस्न मनपर्छ,’ उनले भने ।