‘डी–डे’का दिन केलाई सम्झिने ?

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

यही ६ जुनमा प्रायः डी–डे भनेर चिनिने नर्मन्डी अवतरणको ८०औँ वार्षिकोत्सव फ्रान्सको तटीय क्षेत्र भेर–सुर–मेर, क्याल्भाडोसमा २० भन्दा बढी पश्चिमा नेताको उपस्थितिमा आयोजना गरिएको थियो । यो महत्वपूर्ण स्मरणात्मक घटना इतिहासमा दर्ज हुने सम्भावना छ, किनभने यो अन्तिम पाँच वर्षीय वा दशवर्षीय वार्षिकोत्सवमा विश्वयुद्ध लडेका जीवित दिग्गजले भाग लिएका थिए ।

केही टिप्पणीकारका अनुसार बढ्दो अन्तर्राष्ट्रिय तनावका कारण यो स्मरण दिवस विश्वजगत्मा थप चर्चा वा आकर्षणको विषय बनेको थियो । कार्यक्रममा उच्चपदस्थ अतिथि मौजुद थिए र त्यहाँ बढ्दो भूराजनीतिक सामग्रीसँग जोडिएको राजनीतिक रूपमा चर्को सुनिने भाषणबाजी भएका थिए । यसैकारण केहीलाई यो एक वास्तविक समृति दिवस हो कि भनेर प्रश्नसमेत गर्न प्रेरित गरेको थियो । अन्यले यो ‘एकता’को आडमा एक परिचालन अभियान हुन सक्ने अनुमान गरेका छन् ।

निःसन्देह सबैभन्दा ध्यान खिच्ने क्षण तब थियो, जब अमेरिकी राष्ट्रपति जो बाइडेनले भाषण दिएका थिए । बाइडेनले युद्धमा मारिएकालाई श्रद्धाञ्जली र युद्धका दिग्गजलाई सम्मान गर्दै आफ्नो भाषण सुरु गरेका थिए । तर, तुरुन्तै उनले सन् १९४४ को नर्मन्डी अवतरण र वर्तमान समयबीच तुलना गर्न भ्याएका थिए । उनले नेटोलाई ‘विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन’का रूपमा वर्णन गर्दै ‘पृथकतावादको जवाफ ८० वर्षपहिले पनि थिएन र आज पनि छैन’ भन्नेमा जोड दिएका थिए । विभिन्न सञ्चारमाध्यमका पत्रकारले यसलाई आफ्नो घरेलु राजनीतिक प्रतिद्वन्द्वीको ‘अमेरिका फस्र्ट’ अडानको परोक्ष आलोचनाका रूपमा व्याख्या गरेका थिए । सञ्चारमाध्यमले स्मृति कार्यक्रमले रुस–युक्रेन द्वन्द्वजस्ता विभिन्न भूराजनीतिक विषयलाई सम्बोधन गर्ने अपेक्षा गरेका थिए र बाइडेनको भाषण मुख्य रूपमा यही मुद्दामा केन्द्रित थियो ।

तर, अचम्मको कुरा त्यहाँ प्यालेस्टाइन–इजरायल द्वन्द्वबारे कुरै उठेन, जबकि यस मामिलामा पनि धेरैको ध्यानाकर्षण हुने अपेक्षा गरिएको थियो । डी–डे स्मारक कार्यक्रममा गठबन्धनको आह्वान गर्ने बाइडेन पहिलो अमेरिकी नेता होइनन् । डी–डेको स्मृतिले ‘पश्चिम–केन्द्रित ऐतिहासिक परिप्रेक्ष्य’, अमेरिकी कूटनीतिक आदर्शको वकालत र ‘साझेदारलाई एकताबद्ध’ गर्नका लागि बहुकार्यात्मक भेलाका रूपमा काम गर्छ ।

वास्तवमा शीतयुद्ध सुरु भएदेखि डी–डे वार्षिकोत्सवको दोहोरो काम थियो । यसले शीतयुद्धको राजनीतिक प्रभावको स्मरणका रूपमा काम गर्छ र पश्चिमा साझेदारबीच एकताको महत्वलाई जोड दिन्छ । सन् १९८४ मा नर्मन्डी अवतरणको ४०औँ वार्षिकोत्सव शीतयुद्धको चरम अवस्थाको समयमा भएको थियो । त्यो स्मृति दिवस तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ‘पश्चिमी एकता’का लागि प्रमुखकतासाथ पैरवी गरेका थिए ।

शीतयुद्धको अन्त्यपछि यस्तो अवधि पनि आयो, जब डी–डे वार्षिकोत्सवको सम्झनामा युद्धमा सामूहिक प्रतिबिम्बन गरिएको थियो र फासीवादविरोधी संघर्षको सम्झनाका रूपमा मानिएको थियो । ६०औँ वार्षिकोत्सव समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै तत्कालीन जर्मन चान्सलर गेर्हार्ड स्रोडरलाई पहिलोपटक आमन्त्रित गरिएको थियो । रुस–युक्रेन द्वन्द्वजस्ता घटनाले युरोपमा विभाजन र तनावलाई गहिरो बनाएको छ । फासीवादविरुद्ध एकजुट प्रतिरोधको प्रतीकका रूपमा डी–डे स्मरणको महत्वपूर्ण रूपमा नगुमेको भए पनि उल्लेखनीय रूपमा कमजोर भने भएको छ ।

फ्रान्सले कार्यक्रममा रुसी प्रतिनिधिलाई निमन्त्रणा गर्ने योजना बनाएको थियो । तर, अन्ततः त्यसो हुन सकेन । यसले वर्तमान वास्तविकतामाझ नर्मन्डीको वास्तविक भावनालाई समर्थन गर्ने मामिलामा देखिएको निराशालाई प्रतिबिम्बित गर्छ । बरु यसका ठाउँमा स्वतन्त्रता र लोकतन्त्रका नाममा गुटको द्वन्द्वलाई बढावा दिनेमा बढी जोड दिइन्छ ।

 निःसन्देह केही जीवित नर्मन्डी दिग्गज, एक लाखभन्दा बढी सहयोगीको हताहती र अनगिन्ती निर्दोष फ्रान्सेली नागरिक, जो फासीवादविरुद्ध विश्वव्यापी संघर्षको हिस्सा थिए, ती अनन्तकाल स्मरणका लागि योग्य छन् । यिनको बलिदान स्वतन्त्रता र लोकतन्त्र रक्षाको गहिरो मूल्यको मार्मिक अनुस्मारक बनेका छन् । तथापि, प्रश्न के हो भने नर्मन्डीको भावनालाई वास्तवमा केले मूर्त रूप दिन्छ भन्ने हो, अर्थात् इतिहासबाट सिक्दै राम्रो भविष्य निर्माण गर्ने कल्पना । ऐतिहासिक पाठ र सिकाइलाई स्वेच्छाचारी रूपमा विकृत, अनुकूल र समसामयिक राजनीतिक स्वार्थका लागि प्रयोग गर्नुको सट्टा अनन्त विवेकमा समाहित र उत्सर्जन गर्नुपर्छ । नर्मन्डी अवतरणको सम्झनालाई फासीवादविरुद्धको सम्पूर्ण विश्वव्यापी संघर्षको सन्दर्भ र दोस्रो विश्वयुद्धको इतिहासको निष्पक्ष परिप्रेक्ष्यमा हेरिनुपर्छ ।

यो महान् लडाइँको नेतृत्व गर्ने पूर्वअमेरिकी राष्ट्रपति ड्वाइट डेभिड आइसेनहोवरले पछि एक भाषणमा युरोपेली युद्धभूमिमा सेनाको कमान्डिङ गर्ने आफ्नो अनुभवको स्मरण गर्दै यसो भनेका थिए– ‘हरेक देशका आमाले आफ्ना छोराछोरीलाई अरू देशका बच्चाको घर र आशा बुझ्न सिकाउन सक्थे भने संसारमा शान्तिका कारण वास्तवमा महान् सेवा हुन्थ्यो । यसमा अमेरिका, युरोप, निकट पूर्व र एसिया समावेश छन् ।’

सम्भवतः यो नर्मन्डीको मूल्य–मान्यताबारे आइसेनहोवरको दृष्टिकोण थियो, अर्थात् यो साझेदारबीचको एकताबारे मात्र नभई व्यापक पारस्परिक समझदारीबारे पनि हो । स्मृति कार्यक्रममा एकजना विश्वयुद्धका दिग्गजले ‘विश्वमा आफ्ना छिमेकीलाई समस्या नबनाई पनि पर्याप्त समस्या छन्’ भनेका थिए । वास्तवमा दोस्रो विश्वयुद्धले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ भनेकै विश्वव्यापी द्वन्द्व वाञ्छनीय छैन भन्ने हो । यस अर्थमा युद्ध नदोहोरिने सुनिश्चित गर्नु नै नर्मन्डी अवतरणको साँचो स्मरणात्मक महत्व हो ।
– ७ जुनको ग्लोबल टाइम्सको सम्पादकीयबाट
 

सुझावित समाचार