महोत्तरीमा गोली प्रहार गरी एकजनाको सुनको सिक्री लुटपाट गरी आरोपीहरू फरार भएका छन्। गौशाला नगरपालिका– ११ भरतपुर खोर घर भएका नेपाली कांग्रेसका नेता विनोद महतोको छोरा ३५ वर्षीय विनय महतो (मुरारी) गौशालाबाट मोटरसाइकलमा घर जाँदै गरेको अवस्थामा साँझ ६ बजेतिर गौशाला नगरपालिका– ५ स्थित मरहा खोलामा लुटेरा समूह उनको कम्मरमुनि गोली प्रहार गरी उनले लगाएको सुनको सिक्री लुटेर भागेको हो ।
घाइते विनय महतो (मुरारी)लाई गौशालास्थित स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि हाल प्रादेशिक अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए । उनले लुटेरा समूहको पहिचान खुल्न नसकेको बताउँदै उनीहरूको खोजी भइरहेको बताए ।
लुटेराहरू दुईजनाको संख्यामा रहेको र मोटरसाइकलमा आएको हाल प्रारम्भिक जानकारी रहेको बताउँदै डिएसपी जयसवारले लुटेरा समूहको व्यापक खोजबिन भइरहेको बताए। उनले सुनकै सिक्री लुट्न गोली प्रहार भएको बताइए पनि अनुसन्धानपछि थप कुरा खुल्ने बताए ।
यता प्रत्यक्षदर्शीहरूले लुटेरा समूहसँग केहीबेर मुरारीको हातापाई भएको बताउँदै दुईजना लुटेरासँग कटुवा पेस्तोल भएको र सिक्री लुट्न नै गोली हानेको बताए । उनीहरूले अन्य मानिसहरू बचाउन खोज्दा लुटेरा समूहले बन्दुक तेर्स्याएर तिमीहरूलाई पनि मार्छु भन्दै भाग्न सफल भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
मुरारी प्रदेश २–००४प – ५५६८ नम्बरको डिस्कभर मोटरसाइकल चलाएर घर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको हो । यता लुटेराहरूले चलाएर आएको मोटरसाइकल नम्बर भने खुल्न सकेको छैन । जिल्ला प्रहरीबाट एसपी नकुल पोखरेलसहित विभिन्न चौकीहरूबाट प्रहरीकाे टोली लुटेरा समात्न तथा घटनाको अनुसन्धानमा खटिएका छन ।