निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारणलाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरको हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म दुई सय ८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरेको छ । त्यसमा पहिलो चरणमा एक सय ५४ किलोमिटरको ढल्केबर–इनरुवा प्रसारणलाइन सम्पन्न भएको हो । एक सय ३४ किमिको हेटौँडा–ढल्केबर खण्ड भने निर्माणाधीन छ ।
०६९ माघमा निर्माण प्रक्रिया अघि बढेको परियोजनाको पहिलो खण्ड साढे ११ वर्षमा तयार भएको हो । यद्यपि, आन्तरिक प्रसारण प्रणालीमा चार सय केभी डबल सर्किट क्षमताको यो पहिलो प्रसारणलाइन हो । हाल चार सय केभी क्षमतामा ढल्केबर–मुजफ्फरपुर नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन सञ्चालनमा छ । अब तत्काल चार्ज गरेर यो प्रसारणलाइन सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्म रहेको प्रसारणलाइनबाट चार हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिन्छ । ढल्केबर–इनरुवा खण्ड प्रसारणलाइनमा चार सय १७ वटा टावर निर्माण गरिएका छन् । प्रसारणलाइनलाई सप्तकोशी पार गराउन नदीमै ११ वटा टावर निर्माण गरिएको छ । कोशी नदीमा पर्ने पाँच किलोमिटर प्रसारणलाइनका लागि २४–३२ मिटर गहिरो पाइल जग (फाउन्डेसन) हालिएको छ । एउटा टावरमा १६ वटा पाइल फाउन्डेसन गरिएको छ ।
दुई वर्षअघि कोशी नदीमा आएको बाढीले खडा गरिएको एउटा टावर नै बगाइदिएपछि प्रसारणलाइन निर्माण झनै जटिल बनेको थियो । यसबाहेक अहिले ढल्केबर–हटौँडा खण्ड, न्यु खिम्ती–बाह्रबिसे र बाह्रबिसे–काठमाडांै चार सय केभी क्षमताको प्रसारणलाइन बन्दै छन् । प्रसारणलाइनको अभावमा हिउँदमा पूर्वका उद्योगहरूमा विद्युत् कटौती भइरहेको छ । बर्खामा पूर्वी नेपालमा रहेका आयोजनाबाट उत्पादन हुने बिजुलीले उद्योगहरूको माग आपूर्ति गरे पनि हिउँदमा सम्भव छैन । तर, यो प्रसारणलाइन बनेपछि अब पूर्वी नेपालमा आयात गरेर भए पनि विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि अब पूर्वी नेपालमा विद्युत् आपूर्ति सहज हुने बताए । ‘हाल रहेको एक सय ३२ केभी प्रसारणलाइनको क्षमताले विद्युत् भार नधान्दा हिउँदमा ढल्केबरबाट इनरुवातर्फ विद्युत् पठाउन समस्या थियो । भार धान्न नसकेर लाइन नै चुँडिने अवस्था थियो,’ उनले भने, ‘अब चार सय केभी प्रसारणलाइनबाट पर्याप्त विद्युत् पठाउन सकिने हुँदा भोल्टेज सुधार भई मुख्य रूपमा मोरङ–सुनसरी औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार हुनेछ ।’
इनरुवा चार सय केभी सबस्टेसन सञ्चालनमा आइसकेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित त्यस क्षेत्रमा विद्युत् आपूर्ति सुधारका लागि हाल सञ्चालनमा रहेको इनरुवा–दुहबी एक सय ३२ केभी प्रसारणलाइनको पुरानो कन्डक्टर (तार)लाई बदलेर उच्च क्षमता (एचटिएलएस)को राख्ने प्रक्रिया सुरु भइसकेको छ । यसले त्यहाँका औद्योगिक क्षेत्रमा विद्युत् प्रवाह गर्न सहज हुने प्राधिकरणको विश्वास छ ।