‘निर्माण उद्योगका समस्या समाधान गर्न राज्य उदासीन’

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

निर्माण व्यवसायीले निर्माण उद्योगको समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एसोसिएट सदस्य समन्वय समितिको बाह्रौँ साधारण भेलामा व्यवसायीले निर्माण उद्योगमा चुनौतीका चाङ रहे पनि समस्या समाधानमा राज्य उदासीन भएको बताएका हुन् । भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष एवं भेलाका प्रमुख अतिथि रवि सिंहले महासंघसँग विगतमा गरेका सहमति लागू नगर्नु राज्यको कमजोरी भएको टिप्पणी गरे । 

आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्नुअघि राज्यले निर्माण व्यवसायीसँग कुनै सरसल्लाह नगरेको बताउँदै  देशभरका सबै तह र तप्काका निर्माण व्यवसायी एकजुट भएमा निर्माण उद्योगको समस्या समाधान गर्ने दिशामा राज्यलाई सशक्त दबाब दिन सकिने अध्यक्ष सिंहले बताए । 

त्यसैगरी, महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष रमेश शर्माले राज्यले निर्माण व्यवसायीको अर्बौँ भुक्तानी नदिँदा व्यवसायीले विगतमा पाएका सहुलियतसमेत अहिले नपाउनु ठूलो अन्याय भएको प्रतिक्रिया दिए । त्यसैगरी, महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीको एकता आजको मुख्य आवश्यकता भएको बताए । त्यस्तै, महासंघका अर्का सल्लाहकार एवं पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण उद्योग अत्यन्त कठिन मोडमा पुगेको बताउँदै क्रियाशील निर्माण व्यवसायीलाई नटिकाई अरू निर्माण व्यवसायीको संख्या बढाउँदै लैजानु अनुचित भएको तर्क गरे । 

महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले ठेक्का सम्झौताविपरीत जाने निर्माण व्यवसायीलाई कारबाही हुँदा कर्मचारीले भने उन्मुक्ति पाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको धारणा राखे । भेलाको सभाध्यक्षसमेत रहेका महासंघ एसोसिएट सदस्य समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ले आर्थिक वर्ष ०८१/८२ को बजेटबाट निर्माण उद्योगमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । भुक्तानी, मूल्य समायोजन, निर्माण व्यवसायीलाई दिनुपर्ने सहुलियत, विगतका सहमतिको पालनालगायत कुनै पनि मुख्य विषय बजेटले सम्बोधन नगर्दा निर्माण व्यवसायी निराश भएको उनको भनाइ थियो । 

महासंघका महासचिव रोशन दाहालले सबै खालका निर्माण व्यवसायीका समस्या समाधान गर्न महासंघको वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए । सोही अवसरमा एसोसिएट समन्वय समितिले नेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक राजदूत नियुक्त महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार रमेश शर्मालाई सम्मान गरेको छ । 
 

सुझावित समाचार