बुटवलमा गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रूपमा सबल बनाउन नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत जातजातिका वेशभूषा सिलाउने तालिम सुरु भएको छ ।महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारिएको हो ।
जातजातिका वेशभूषा सिलाउने तालिमको आइतबार बुटवल टेक्निकल इन्स्टिच्युट बिटिआईबाट शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउन कार्यक्रम सुरु गरिएको बताए ।
‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’को नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उनले बताए । उनले महिलालाई घरमै बसीबसी गर्न सक्ने कामलाई पनि उत्पादनसँग जोडिने बताए ।
पहिलो चरणमा नगरका आठ सयजना महिलालाई तालिममा समावेश गर्ने नगरको लक्ष्य रहेको बताउँदै प्रमुख पाण्डेयले तालिमपश्चात् हरेक टोल–टोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने बताए ।गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोसेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । वडा नम्बर ४ का अध्यक्ष नरीश्वर शर्माले स्थानीयस्तरमा महिलामा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए । बुटवल टेक्निकल इन्स्टिच्युट बिटिआइका कार्यकारी निर्देशक अभिमन्यु पन्थीले महिलाका लागि ल्याइएको यो कार्यक्रमको सदुपयोग गर्दै सीप सिकेर स्वरोजगार बन्ने बताए ।
यस्तै, वडा नम्बर ६ मा सुरु भएको गुन्द्रुक र मस्यौरा बनाउने तालिम समापन भएको नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका प्रमुख विजयदेव भुर्तेलले बताए । बुटवलमा ७० जना गृहिणी महिलाका लागि चुरा, पोते, टीका बनाउने ४५ दिने तालिम, एक सयजना महिलाका लागि १५ दिने गुन्द्रुक, मस्यौरा तालिम, सयजनालाई एक महिने दुना–टपरी बनाउने तालिम, ६० जनालाई विभिन्न जातजातिको वेशभूषा, ड्रेस तयार गर्ने दुईमहिने तालिम दिने योजना रहेको छ ।