भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत प्राप्त गर्न असफल भए पनि र आफ्ना सहयोगीको समर्थनमा सरकार गठन गरे पनि अयोध्याको राममन्दिर रहेको फैजाबादमा पार्टीको आश्चर्यजनक पराजयले गरम बहस सुरु गरेको छ । वास्तवमा भाजपाको पराजय अयोध्याको भव्य मन्दिरमा रामलल्लाको नयाँ मूर्तिको अभिषेक समारोहको चार महिनापछि भएको थियो । समाजवादी पार्टीका अवधेश प्रसादले भाजपाका लल्लु सिंहलाई ५४ हजार पाँच सय मतले पराजित गरेका थिए ।
मन्दिर रहेको सहरमा भाजपालाई झट्का लाग्नुमा धेरै कारण छन् । भाजपाबाट अन्य पिछडा वर्ग (ओबिसी) र दलितहरूको अलगाव, ठोस जातीय समीकरणलाई धक्का दिने अखिलेश यादवको चालबाजी, अयोध्याको विकासका लागि लिएको आफ्नो जग्गाको मुआब्जा नपाएकोमा स्थानीयको असन्तुष्टि केही कारण हुन् । ओबिसी शैक्षिक वा सामाजिक दृष्टिले पिछडिएका जातिलाई वर्गीकरण गर्न भारत सरकारले प्रयोग गरेको शब्द हो । एउटा पक्षले भाजपाको हारलाई पार्टीको दिल्ली र लखनउ एकाइबीचको तनावसँग पनि जोडेको छ ।
भाजपाको ४०० पार नारा कसरी असफल भयो ?
यसबाहेक फैजाबाद समाजवादी पार्टीको भोट बैंकको पक्षमा सबैभन्दा बलियो जातीय समीकरण भएको क्षेत्रमध्ये एक पनि हो । साथै, भाजपाले निर्मम बहुमत प्राप्त गरेमा संविधान परिवर्तन गर्ने कथनले पनि समाजवादी पार्टीका लागि काम गरेजस्तो देखिन्छ । भाजपाले ४०० भन्दा बढी सिट प्राप्त गरे संविधान परिवर्तन हुने पार्टी नेता लल्लु सिंहले अयोध्यामा पहिलोपटक भनेका थिए । त्यसपछि समाजवादी पार्टीले सो मुद्दालाई प्रमुख विषय बनाएको थियो । संविधान संशोधन गरेर पिछडिएका, दलित, अल्पसंख्यकलाई दिइएको आरक्षण अन्त्य गर्न भाजपाले खोजेको समाजवादीले आरोप लगाएको थियो ।
यो मुद्दा यति पेचिलो बन्यो कि भाजपाले चुनावभर यसको बारेमा स्पष्टीकरण दियो र आफ्नै षड्यन्त्रको सिकार भयो । सन् १९८४ देखि समाजवादी पार्टी र कांग्रेसले दुई–दुईपटक फैजाबाद सिट जितेका छन् । सन् १९९१ पछि अयोध्यामा भाजपाले महत्व पाएको थियो ।
भाजपाका कुर्मी र हिन्दुत्व अनुहार विनय कटियार यस क्षेत्रबाट तीनपटक विजयी भए भने समाजवादी पार्टीका मित्रसेन यादव सन् १९८९, १९९८ र २००४ मा यहाँ निर्वाचित भएका थिए । सन् २००४ मा भाजपाले आफ्नो ओबिसी अनुहार कटियारलाई हटाएर लल्लु सिंहलाई उम्मेदवार बनायो । सिंहले २०१४ र २०१९ मा लगातार दुईपटक जितेका थिए । भाजपाले ‘मोदी लहर’मा सवार भएर पछिल्ला दुई चुनाव जित्यो । तर, जाति मुख्य मुद्दा बन्नेबित्तिकै पार्टी पराजित भयो ।
जातीय समीकरणमा अखिलेश यादवले पाए स्थान
फैजाबादमा जातीय समीकरणलाई भाजपाको हारको प्रमुख कारण मानिएको छ । अयोध्यामा ओबिसी मतदाताको संख्या सबैभन्दा बढी छ । तीमध्ये कुर्मी र यादव सबैभन्दा बढी छन् । मतदाताको २२ प्रतिशत ओबिसी र २१ प्रतिशत दलित छन् । दलितमध्ये पासी समुदायका सबैभन्दा बढी मतदाता छन् । विजयी उम्मेदवार अवधेश प्रसाद पासी समुदायका हुन् ।
त्यस्तै, १८ प्रतिशत मुस्लिम मतदाता छन् । यी तीन समुदाय मिलेर मतदाताको ५० प्रतिशत ओगटेका छन् । यसपटक तीन समुदाय (ओबिसी, दलित, मुस्लिम) फैजाबादमा समाजवादी पार्टीलाई यादगार जित हात पार्न एकजुट भए । यसबाहेक अयोध्याको विकासका लागि जग्गा लिएपछि मुआब्जा नपाएको भन्दै स्थानीयमा व्यापक आक्रोश छ । अयोध्याको विकास र राममन्दिर निर्माण भइरहेका वेला दुर्गम गाउँका जनताले कुनै फाइदा नपाएको गुनासो थियो । ठूला आयोजनामा अयोध्याका जनताले आफ्नो जग्गा गुमाउँदै गर्दा बाहिरबाट आएका व्यवसायीले फाइदा उठाइरहेको पनि स्थानीयमा चर्चा थियो ।
भाजपाले अयोध्यामा मात्र हारेन अम्बेडकरनगर, बाराबंकीनजिकैका सबै सिट पनि गुमायो । अयोध्याको नतिजालाई भाजपाको पराजय मात्र होइन, पार्टीको हिन्दुत्व दर्शनको पराजयको रूपमा हेरिएको छ ।
– इन्डिया टुडेबाट