गण्डकीमा आज सरकारको विश्वास परीक्षण

मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाए धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदै छन् । तर, आइतबार रातिसम्म उनले विश्वासको मत पाउने आधार देखिएको छैन । पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको बाटो खुला हुनेछ । 

संविधानको धारा १६८ को उपधारा (३) अनुसार १६ जेठमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिन शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेका थिए । विश्वासको मत पाउने–नपाउने टुंगो नहँुदै पाण्डेले मंगलबार नीति तथा कार्यक्रम पेस गर्न प्रदेश सभा सचिवालयमा आइतबार पत्र पठाएका छन् । 

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । तर, अंकगणित भने सरकारको अनुकूल छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई आफ्नो पोल्टामा पारे पनि उससँग बहुमत पुग्दैन । पाण्डेलाई बहुमत पुर्याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ । 

यसैलाई आधार मानेर मुख्यमन्त्री पाण्डेले प्रमुख प्रतिपक्ष दल एमालेलाई पत्र पठाएका छन् । पाण्डेले आइतबार एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई पत्र लेखेर विश्वासको मतमा समर्थन जनाइदिन आग्रह गरेका हुन् । पाण्डेले लेखेको पत्र आइतबारै कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमाले प्रमुख सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका थिए । 

‘स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ । राजनीतिक दलहरूबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री पाण्डेले लेखेको पत्रमा छ । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाउन एमाले र माओवादीबाहेक गण्डकी प्रदेश सभामा रहेका दललाई पत्राचार गरेका थिए । प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको कांग्रेसको पत्रमा छ । 

अर्कोतर्फ एमाले–माओवादी गठबन्धनसँग पनि बहुमत छैन । एमालेसँग उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ र एक सिट एकीकृत समाजवादी गरी ३१ सिट छ । सभामुखले विश्वासको मत दिन नपाउने र ३० मतलाई बहुमत मान्दा एमाले नेता अधिकारी नेतृत्वको सरकार ढलेको थियो । यस अवस्थामा गठबन्धनलाई दुई सिट रहेको राप्रपाको साथ चाहिन्छ । तर, राप्रपा पर्ख र हेरको नीतिमा छ ।

पाण्डेले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त हुने कानुनी व्यवस्था छ । यसमा आफूसँग प्रदेश सभामा विश्वास रहेको आधार देखाउने कोही सदस्य मुख्यमन्त्रीमा नियुक्त हुन सक्छ । १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समेत ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यदि लिन असफल भए मध्यावधि निर्वाचनमा प्रदेश धकेलिनेछ । 

एमाले वा माओवादीको समर्थनविना पुग्दैन बहुमत
सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री

६० सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमतका लागि ३१ मत चाहिन्छ । तर, अंकगणित भने सरकारको अनुकूल छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई आफ्नो पोल्टामा पारे पनि उससँग बहुमत पुग्दैन । पाण्डेलाई बहुमत पुर्याउन एमाले 
वा माओवादीको सहयोग चाहिन्छ । 

एमालेलाई मुख्यमन्त्रीको पत्र
खगराज अधिकारी

एमाले वा माओवादीको सहयोगविना बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पाण्डेले प्रमुख प्रतिपक्ष दल एमालेलाई पत्र पठाएका छन् । पाण्डेले आइतबार एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई पत्र लेखेर विश्वासको मतमा समर्थन जनाइदिन आग्रह गरेका हुन् । ‘स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ । राजनीतिक दलहरूबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलका सदस्यहरूले मतदान गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ पत्रमा छ । 

कोशी सरकार गठन विवाद हेर्न नमिल्नेमा
कोशी प्रदेश सरकार गठनको विवाद आइतबार हेर्न नमिल्ने इजलासमा परेको छ । मुद्दाको अर्को पेसी ३१ जेठका लागि तोकिएको छ । २५ जेठमा पूर्ण इजलासमा दर्ता भई पेसी चढेको रिट न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा परेको थियो । कोशीको विषयमा यसअघि दायर रिटमा न्यायाधीश पोखरेलले कानुन व्यवसायी भई बहस गरिसकेका छन् । यसैकारण यो मुद्दा उनले हेर्न नमिल्ने भएको हो । 

यसअघि २३ जेठमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासबाट पूर्ण इजलासमा पठाउने आदेश भएको थियो । २७ वैशाखमा दायर रिटमाथि भोलिपल्ट हरिप्रसाद फुँयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो भने ९ जेठमा मिसिल कागज झिकाउने आदेश संयुक्त इजलासले गरेको थियो । मुख्यमन्त्री केदार कार्कीको वारेस सुप्रेक्षा जोशीले दायर गरेको रिटमा २६ वैशाखमा प्रदेश प्रमुखद्वारा जारी सूचना खारेजीको माग छ । प्रदेश प्रमुखले धारा १६८(५) बमोजिम सरकार गठनको आह्वान गरेका थिए, जसअनुसार मुख्यमन्त्रीमा एमालेका प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । 

जसपा विभाजन विवाद पूर्ण इजलासले टुंग्याउने
जनता समाजवादी पार्टी नेपाल विभाजनको विवाद पूर्ण इजलासबाट टुंगिने भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फँुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विषयमा दायर दुईवटै रिटलाई पूर्णमा पठाउने आदेश गरेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले ३१ वैशाख र ६ जेठमा दुईवटा रिट दायर गराएका थिए । २५ जेठमा संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको रिटमा आइतबार पूर्णमा पठाउने आदेश भएको छ । अब पूर्णमा पेस हुने अन्य मुद्दाझैँ यो पनि दर्ता भई सुनुवाइ सुरु हुनेछ ।

२ जेठमा जसपा विभाजनसम्बन्धी सबै निर्णय यथास्थितिमा राख्न सर्वोच्चबाट आदेश भएको थियो । न्यायाधीश विनोद शर्माले अन्तरिम आदेश दिने–नदिनेबारे छलफल गर्न दुवै पक्ष झिकाउने आदेशसमेत गरेका थिए । सात सांसदले पार्टी विभाजन गर्दै नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएअनुसार जसपा नामसहित अर्को दल दर्ता भएको थियो । अशोक राई नेतृत्वको दललाई २४ वैशाखमा आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि उक्त निर्णय बदरको मागसहित यादव सर्वोच्च पुगेका थिए । हाल संघीय संसद्मा यादव नेतृत्वको जसपा नेपालका पाँच र राई नेतृत्वको जसपाका सात सांसद छन् । 
 

सुझावित समाचार