वीरमा २२ दिन ब्रेन ट्युमरको निःशुल्क अप्रेसन

विश्व ‘ब्रेन ट्युमर डे’को अवसरमा दिइएको यो सुविधा १६ असारसम्म रहने

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

वीर अस्पतालले आइतबारदेखि ब्रेन ट्युमरको निःशुल्क अप्रेसन सुरु गरेको छ । विश्व ‘ब्रेन ट्युमर डे’को अवसरमा दिइएको यो सुविधा १६ असारसम्म २२ दिनका लागि रहनेछ । 

पहिलो दिन एक बिरामीको अप्रेसन गरिएकोमा सोमबार दुईजनाको अप्रेसन गर्ने तयारी भएको वीरका निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘ब्रेन ट्युमरको उपचार महँगो भएकाले विपन्नलाई उपचारमा सहज होस् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ । प्रत्येक हप्ता कम्तीमा चारजनाको शल्यक्रिया गर्ने योजनामा छौँ,’ डा. पौडेलले भने । ब्रेन ट्युमरका जटिल समस्या भएका विपन्न बिरामी यो सेवाबाट लाभान्वित हुने उनको भनाइ छ । 

ब्रेन ट्युमरबारे आममानिसमा जनचेतना नहुँदा र उपचारमा सहज पहुँच नपुग्दा बिरामीले समस्या भोग्दै आएका छन् । अत्यधिक टाउको दुख्ने, बान्ता हुने, कान कम सुन्न थाल्ने, स्मरणमा समस्या देखिने, आँखामा अकस्मात समस्या देखिनेजस्ता अस्वाभाविक लक्षण देखिने भएकाले समयमा सजग हुनुपर्ने डा. पौडेलले बताए । त्यस्तै, मानसिक समस्याका लक्षणहरूसमेत ब्रेन ट्युमरको संकेत भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ । 

वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार यस्तो अप्रेसन निःशुल्क अवधिबाहेकको समयमा गर्दा २५ हजार रुपैयाँ लाग्छ भने निजी स्वास्थ्य संस्थामा त एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुन्छ । नेपालमा सबैभन्दा पहिलोपटक ब्रेन ट्युमरको अप्रेसन पनि वीर अस्पतालमै भएको थियो । 

विपन्नलाई सहज होस् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ
डा. सन्तोष पौडेल, निर्देशक, वीर अस्पताल

ब्रेन ट्युमरको उपचार महँगो भएकाले विपन्नलाई उपचारमा सहज होस् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ । पहिलो दिन एक बिरामीको अप्रेसन गरिएकोमा सोमबार दुईजनाको अप्रेसन गर्ने तयारी छ । प्रत्येक हप्ता कम्तीमा चारजनाको शल्यक्रिया गर्ने योजनामा छौँ ।

सुझावित समाचार