झापा कमल गाउँपालिका– ७ विष्णुकट्ठाको सिंहदेवी आधारभूत विद्यालयमा चार वर्षअघि विद्यार्थी संख्या ३२ मा सीमित भए । कक्षा पाँचसम्म पढाइ, शिक्षक पनि चारजना । विद्यार्थी ०३० मा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागेपछि अभिभावकले पनि आफ्ना बालबालिका पठाउन छाडेका थिए ।
त्यही भएर सिंहदेवीलाई ०७६ मा नजिकैको पिङडाँडा आधारभूत विद्यालयसँग मर्ज गर्ने तयारी कमल गाउँपालिकाले गरेको थियो । सिंहदेवीका विद्यार्थीलाई पिङडाँडा आधारभूत विद्यालय लैजाने र सिंहदेवीको जग्गा धेरै भएकाले खेलमैदान बनाउने तयारीका साथ गाउँपालिकाले मैदान सम्याउने कामसमेत गर्यो ।
विद्यालय मर्ज गर्न हुँदैन भनेर स्थानीय ओमनाथ तिम्सिना, रविन गुरुङ, सन्तोष राईलगायत स्थानीय विद्यालय सुधारको योजनाको खाका बोकेर विद्यालय पुगे । त्यहीँ वेला ०७७ चैतमा इन्दिरादेवी खनाल विद्यालयको प्रधानाध्यापक बनिन् । ओमनाथ तिम्सिना, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने भने सन्तोष राई सदस्य र रविन गुरुङ सल्लाहकार बसे ।
सुरुमा बालबालिकाका लागि चिल्ड्रेन पार्क बनाइयो । ‘यसरी तल्लो तहमा पढ्ने केही विद्यार्थीका अभिभावकलाई आकर्षण गर्न सक्यौँ, त्यसपछि विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य र गाउँका अगुवाका छोराछोरी त्यही पढाउने निर्णय भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिम्सिना पनि विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि र शिक्षक, कर्मचारीका छोराछोरी सामुदायिक पढाएपछि अभिभावकमा विश्वास झनै बढेको बताउँछन् । ‘त्यसपछि निजी विद्यालयमा पढ्ने हाम्रा बालबच्चा यहीँ पढाउन सुरु गर्यौँ,’ अध्यक्ष तिम्सिनाले भने ।
प्रअ खनालले सबै कक्षामा अंग्रेजी शिक्षा पनि लागू गरिन् । ‘विद्यालयको स्रोतले अंग्रेजी र नेपाली दुवै माध्यम पढाउन सक्ने अवस्था थिएन । बरु पढिरहेका विद्यार्थीलाई एक तह तल झारेर पढाऔँ । अभिभावक सहयोग शुल्क पनि लिएनौँ,’ उनले भनिन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारपछि विद्यार्थी संख्या क्रमशः बढ्दै गयो । विद्यालयमा आइसिटी कक्षासमेत सञ्चालन हुन थाल्यो । विद्यालय प्रशासनले कक्षा पाँचसम्म रहेको यो विद्यालयलाई क्रमशः कक्षा आठसम्म बनायो । चार वर्षअघि ३२ जना विद्यार्थी रहेको यो विद्यालयमा अहिले तीन सय १२ जना विद्यार्थी संख्या पुगेको छ । विद्यालयमा पूर्ण रूपमा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । तर, विद्यालयको दरबन्दी भने बढ्न सकेको छैन । विद्यालयमा चारजना स्थायी र दुईजना गाउँपालिकाको अनुदानमा अस्थायी शिक्षकको दरबन्दी छ । विद्यालयमा २१ जना शिक्षक–कर्मचारी छन् ।
पछिल्लो समय सिंहदेवी शैक्षिक गुणस्तर लोभलाग्दो रहेको अभिभावक सन्तोष राई बताउँछन् । ‘मैले मेरो छोरालाई निजी विद्यालय कक्षा १ बाट सिंहदेवीमा हालेँ । त्यसवेला विद्यालय सुधार गर्न भनेर त हालियो । तर, सामुदायिक विद्यालयको पढाइ कस्तो हुने हो भन्ने तनावले रातभर सुत्न सकिएन । कतै छोराको भविष्य त बिगारिनँ जस्तो लाग्यो,’ उनी भन्छन्, ‘तर, सिंहदेवीको शैक्षिक गुणस्तर अहिले निजीको भन्दा राम्रो छ । अहिले छोरा कक्षा पाँचमा पढ्छ । म सन्तुष्ट छु ।’