दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेकी एक सुत्केरीको मृत्यु भएको छ। अत्याधिक रक्तस्रावका कारण २७ वर्षीया शर्मिला विकको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य फोकल पर्सन विमल केसीले बताए।
उनको शनिबार साँझ ६ः४८ बजेतिर पवननगर स्वास्थ्य चौकीमा सामान्य तरिकाले बच्चा जन्मिएको थियो। बच्चा जन्मिसकेपछि साँझ ७ः४८ मा साल निकालिएपछि रक्तस्राव सुरु भयो। रक्तस्राव सुरु भएको १५ मिनेटमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो।
अस्पताल ल्याउँदा धेरै नै रक्तस्राव भइसकेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले बताए। ‘हामीकहाँ आउँदा धेरै रक्तस्राव भइसकेको थियो, रक्तस्राव रोक्नलाई औषधि पनि चढायौँ, रगत पनि चढायौँ,’ उनले भने, ‘त्यस्तो अवस्थामा आइसियूमा राखेर उपचार गर्नुपर्ने, यहाँ आइसियू नभएपछि घोराही प्रतिष्ठानमा रेफर गरेका थियौँ।’
शनिबार बेलुका साढे ८ बजेतिर ती महिलालाई उपचारका लागि प्रतिष्ठानमा रेफर गरिएको थियो। प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा महिलाको राति ९ बजेतिर बाटोमै मृत्यु भएको हो। यस्तो समस्या विरलै महिलाहरूमा देखिने डा. सिंहले बताए।
महिलाको पाठेघरमा साल टाँसिएको हुने र निकाल्दा रगत बग्ने समस्या हुने उनको भनाइ छ। त्यसको उपचार शल्यक्रिया गरेर पाठेघर निकाल्नु नै रहेको डा. सिंहले बताए।
मृतक महिलाको यसअघिको एउटी तीन वर्षकी छोरी छिन्। अहिले जन्मिएको शिशुको अवस्था सामान्य रहेको छ।