बहिरा विद्यार्थीका आशावादी ‘स्वरहरू’

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

बहिरा विद्यार्थीहरू हातले संकेत गरेर बोलिरहेका थिए। त्यसको अनुवाद शिक्षक स्मृति योगीले गरिरहेकी थिइन्। तुलसीपुर उपमहानगरपालिका– ८ स्थित अस्वारा माविमा अध्ययनरत बहिरा बालबालिकाहरूले शुक्रबार सांकेतिक भाषामा अभिव्यक्ति कला प्रतियोगितामा भाग लिएका थिए।

‘अप्टिमिस्ट क्लब अफ तुलसीपुर’को आयोजनामा फरक खालको प्रतियोगिता आयोजना भएको हो। बोल्न पनि नसक्ने बहिरा विद्यार्थीका लागि अभिव्यक्ति कलाको प्रतियोगितामा कक्षा नाैका डम्बर घर्तीले सांकेतिक भाषामा भने, ‘सफलताका लागि काम गर्दागर्दै असफलता हुन्छ, असफलता हुँदा पिर पनि हुन्छ,’ उनले भने, ‘त्यसले गर्दा मान्छे दुःखी भएका हुन्छन्, सबैजनाले खुसी चाहन्छौँ। तर, पिरलाई खुसीमा बदल्न चाहने हो भने आशावादी हुनुपर्छ।’ 

मनलाई सकारात्मक बनाएर आशाका साथ अगाडि बढेमा जीवन सार्थक हुन्छ, भन्ने उनको सांकेतिक भाषालाई स्मृति योगीले शब्दमा अनुवाद गरिदिइन्। ‘संसारलाई आशावादका साथ कसरी बदल्ने’ शीर्षकको प्रतियोगितामा अर्का प्रतियोगी भरत वलीले भने, ‘हामीसँग धेरै अपेक्षा हुन्छन् । साँच्चिकै हामीले हाम्रा चाहनालाई पूर्णता दिन आशाका साथ अगाडि बढ्नुपर्छ। मनभित्र आशा राख्नुपर्छ। अनि मात्रै जीवनले पूर्णता पाउँछ।’

अर्का प्रतियोगी निरुता घर्तीले भनिन्, ‘निराशालाई टाढा राखेर मस्तिष्कलाई परिवर्तन गर्न जरुरी छ । जीवनमा आशालाई मनभित्र राखेर काम गर्नुपर्छ, अनि सफलता पाइन्छ ।’

उनीहरूजस्तै १४ प्रतियोगीहरूले सांकेतिक भाषामा यसरी नै प्रस्तुति राखेका थिए। १४ प्रतियाेगीमध्ये कक्षा आठका हिमालजंग मल्ल प्रथम, कक्षा नाैका डम्बर घर्ती द्वितीय, कक्षा १० का भरत वली तृतीय र कक्षा ९ की निरुता घर्ती र गोपाल वलीले सान्त्वना स्थान पाए।

प्रतियोगिताका प्रथमलाई एक हजार, द्वितीयलाई सात सय ५० तथा तृतीय र सान्त्वनालाई पाँच–पाँच सय रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। 

बोल्न सक्ने व्यक्तिले आफ्नो कुरा सहजै व्यक्त गर्न सक्ने भएकाले बहिरा भएकै कारण बोल्न पनि नसक्ने र सांकेतिक भाषा पनि सबैले बुझ्न नसक्ने अवस्था छ। बहिरा विद्यार्थीको मनोभावना बुझ्न यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कमल सापकोटाले बताए।

उनका अनुसार यस्तो खालको कार्यक्रम जिल्लामा पहिलोपटक आयोजना गरिएको हो। हाल सोही विद्यालयमा एक सय पाँचजना बहिरा बालबालिका पढ्दै आएका छन्।

सुझावित समाचार