शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आपत्ति जनाएको छ।
महासंघले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी १३ जेठमा जारी निर्देशिकामा रहेको शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधानप्रति महासंघले आपत्ति जनाउँदै सो प्रावधान फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघको शुक्रबार र शनिबार पोखरामा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले सो प्रावधान फिर्ता नलिए आन्दोलनको लागि तयारीमा रहन देशभरिका विद्यालय व्यवस्थापन समितिहरूलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ।
शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याउने प्रयत्नले सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने, सक्षम शिक्षक रोजेर विद्यालय सञ्चालन गर्ने समुदायको अधिकार कुण्ठित गर्ने देखिएको दाबी गर्दै महासंघका अध्यक्ष गुणराज मोक्तानले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए।
मन्त्रालयले जारी गरेको निर्देशिका प्रचलित शिक्षा नियमावली २०५९ को नियम ९९ को उपनियम (१) को प्रावधान र मर्मविपरीत रहेको मोक्तानको भनाइ छ। निर्देशिका सच्याएर शिक्षक व्यवस्थापन प्रक्रियामा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अधिकार, कर्तव्य र जिम्मेवारी सबल बनाउन मागसमेत बैठकले गरेको महासचिव दुर्गानन्द ठाकुरले जानकारी दिए।
विद्यालय सञ्चालन तथा गुणस्तर कायम गर्न चार बाधा पुग्ने दाबी
निर्देशिकामा रहेको सो प्रावधानका कारण विद्यालय सञ्चालन तथा गुणस्तर कायम गर्न विभिन्न बाधाहरू सिर्जना हुने जनाउँदै महासंघले चारवटा बाधा औँल्याएको छ ।
१. विद्यालयको आवश्यकताअनुसार शिक्षकको टिम निर्माण गर्दै गुणस्तर कायम तथा सञ्चालन भएका विद्यालयहरूमा प्रक्रियागत रूपमा सरुवा भएको शिक्षकहरूबाट गुणस्तर कायम गर्न बाधा पुग्ने।
२. अधिकांश सामुदायिक विद्यालयहरूमा तल्लो तहको दरबन्दीमा रहेर पनि माथिल्लो तह सञ्चालन गर्न विद्यालयको आवश्यकताअनुसार शिक्षक सरुवामा सहमति प्रदान गर्ने कार्यमा बाधा पुग्ने।
३. स्वयंसेवी रूपमा विद्यालयको विकासमा मरिमेट्दै आएका विद्यालय व्यवस्थापन समितिहरूले आफ्नो विद्यालयमा कस्तो शिक्षक आवश्यक पर्ने हो भन्नेबारे आफैँले निर्णय गर्न पाउनुपर्ने प्रचलित अधिकार कुण्ठित हुने।
४. सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र व्यवस्थापन समितिजस्ता सरोकारवालाहरूसँग कुनै समन्वय नगरी मनगढन्ते र मनोमानी ढंगले ल्याइएको निर्देशिका सामुदायिक विद्यालयहरू नै ध्वस्त पार्ने र गरिब नेपालीका छोराछोरीलाई महँगो शुल्क तिरेर पढ्न बाध्य पार्ने।