दक्षिणपन्थीका पाउमा पार्टी बुझाउन लागेपछि संसद् विघटन : अध्यक्ष ओली

‘पार्टीको विपक्षमा बोल्ने नेताहरुलाई विस्थापित गरेका छौं’

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको आफ्नो कदम सही भएको तर्क दोहोर्याएका छन्। एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूले पार्टी जोगाउन सो कदम चालेको बताएका हुन्।

‘कसरी सरकार ढाल्ने भनेको छ, विपक्षीलाई प्रधानमन्त्री बनाउन कुदेको छ, अदालत गएको छ, अनि फेरि कुरा ठूला गरेको छ। त्यति वेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैन थियौँ हामीले, यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो,’ उनले भने।

महाधिवेशनबाट निर्वाचित भएको अध्यक्षलाई नै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेर दक्षिणपन्थीहरूलाई पार्टी बुझाउन लागेपछि प्रतिनिधिसभा विघटन गरेको ओलीको भनाइ छ।

‘दक्षिणपन्थीहरूका पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाइसकेको हुन्थ्यो,’ उनले भने, ‘नवौँ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्र होइन, मजबुत हैसियतमा पुर्याएको छ, सबैभन्दा ठूलो पार्टी बनाएको छ, जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुईतिहाइको मजबुत शक्ति बनाएको छ, उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नुभएन !’

पार्टीको विपक्षमा बोल्ने आदत बसेका नेताहरूलाई विस्थापित गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेमा जत्तिको नीतिगत स्पष्टता र नीतिमा बाँधिएको एकता दुनियाँमा कमै पार्टीमा रहेको जिकिर  गरे।

‘पार्टी तोड्ने प्रवृत्ति थिए, तिनलाई पराजित गरेका छौँ। पार्टीलाई विस्थापित गर्ने, पार्टीका विपक्षमा बोल्ने आदत बनेको थियो केही नेताहरूको। ती कुराहरूलाई हामीले विस्थापित गरेका छौँ। आज पार्टी एउटै नीतिमा छ, एउटै विचारमा छ, एउटै कार्यक्रम र एउटै उद्देश्यमा छ,’ उनले भने।

सुझावित समाचार