भारतविरुद्ध नवयुगको त्यो एक्रोब्याटिक गोल

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण
भारतविरुद्ध नवयुगको त्यो एक्रोब्याटिक गोल

१२औँ सागको फुटबल फाइनलमा भारतलाई २–१ ले हराएपछि नेपाली खेलाडी, निर्णायक गोल गरेका नयवुग श्रेष्ठ (दायाँ)

नवयुग श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् । सन् २०१५ मा २५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण दिलाउन मुख्य भूमिका निर्वाह गरेका थिए । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा भारतविरुद्धको भिडन्तमा उनकै गोलमा नेपालले २–१ ले स्वर्ण जित्यो । नेपालले त्यो समयमा एक वर्षभित्र १२औँ सागसहित बंगबन्धु कप र एएफसी सोलिडारिटी कप जितेको थियो । तीनवटै उपाधि जित्दा श्रेष्ठले महत्वपूर्ण योगदान दिएका थिए । राष्ट्रिय टोलीबाट ५० खेलमा आठ गोल गरेका नवयुगले भारतलाई हराउँदै फुटबलतर्फ स्वर्ण पदक जिताउँदाको क्षण नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए:

सन् २०१५ मा पुनेमा भारतसँग भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेँ । त्यसयता टोलीमा निरन्तर रूपमा पर्न थालेँ । १२औँ साग हुनुअघि बंगलादेशले सन् २०१६ मा बंगबन्धु कप आयोजना गरेको थियो । हामीले ढाकामा निकै राम्रो प्रदर्शन गर्यौँ । बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली टोली थियो । प्रतियोगितामा बहराइनले यू–२१ टोली पठाएको थियो । यसै टोलीलाई फाइनलमा ३–० ले हरायौँ । मैले बंगबन्धुमा माल्दिभ्सविरुद्ध एक ह्याट्रिकसहित सर्वाधिक चार गोल गरेँ । 

बंगलादेशबाट फर्केपछि १२औँ सागको तयारी भयो । भारतले नाकाबन्दी लगाइरहेको समयमै हामी फुटबल खेल्न गुवाहाटी गयौँ । त्यसवेला गुवाहाटी र सिलोङमा साग खेल आयोजना भएको थियो । फुटबल प्रतियोगिता भने गुवाहाटीमा राखिएको थियो । 

नेपालको टोली काँकडभिट्टा हुँदै भारतको बागडोरामा पुग्यो । बागडोराको विमानस्थलबाट हामी सीधै गुवाहाटी पुगेका थियौँ । भारतमा प्रशिक्षण भइरहँदासम्म नेपालले स्वर्ण जित्नेमा कसैलाई विश्वास थिएन । सधैँ दक्षिण एसियाली खेलकुदमा भारत नै सुरुको दाबेदारी राष्ट्र हुने गर्छ । फेरि घरेलु भूमिमा आयोजना भइरहेको प्रतियोगितामा भारतलाई नै फुटबलको स्वर्ण विजेता राष्ट्रका रूपमा हेरियो । यसकारण नेपाललाई स्वर्ण पदकको दाबेदार टोली भनी कसैले पत्याएका थिएनन् । 

प्रशिक्षणका क्रममा पनि कसैले स्वर्णपदक जितेर फर्कने आशा गरेका थिएनन् । हामीले समूह चरणदेखि उत्कृष्ट नतिजा निकाल्दै गयौँ । खेल्ने क्रममा हामीले सहजै सेमिफाइनलको स्थान बनायौँ । हाम्रो समूहमा बंगलादेश चार अंकसहित शीर्ष स्थानमा रह्यो । नेपाल तीन अंकसहित दोस्रो भएर अन्तिम चारमा पुगेको थियो । मैले समूहमा भुटानविरुद्ध ह्याट्रिक गोल गरेको थिएँ । पहिलो हाफमा एक र दोस्रो हाफमा थप दुई गोल गरी ह्याट्रिक पूरा भयो । समग्रमा हामीले भुटानविरुद्ध ५–० को जित निकाल्यौँ । 

सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक
१२औँ सागमा नेपाल सुरुमा सेमिफाइनलको दाबेदार थिएन । प्रत्येक खेलमा सुधारेर प्रदर्शन गर्यौँ । साथसाथै दिन–प्रतिदिन राम्रो प्रदर्शन भयो । यसरी खेल्दै जाँदा सेमिफाइनल स्थान सुरक्षित गर्यौँ । फाइनल प्रवेशका लागि नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स थियो । खेलमा माल्दिभ्सविरुद्ध नेपालले पहिला दुई गोल गर्यो । अन्जन विष्ट र मेरो एक गोलसँगै नेपालले अग्रता लियो । मध्यान्तरपछि माल्दिभ्सले गोल फर्कायो । रमाइलो पक्ष के रह्यो भने मध्यान्तरपछिको खेल प्रतिस्पर्धात्मक बनेको थियो । यस समयमा दुवै पक्षबाट लगातार गोल गरिरहेका थियौँ । 

खेलको अतिरिक्त समयमा गोलकिपर विकेश कुथूको गल्तीका कारण माल्दिभ्सले ३–२ को अग्रता लियो । त्यही अतिरिक्त समयमा मैले नेपाललाई ३–३ को बराबरीमा ल्याएँ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल सकिने अवस्थामा थियो । बक्सभित्र घुलमिलमा प्लेसिङ गरेको बलमा गोल भयो । दायाँ खुट्टाले हानेको बल नै निर्णायक बन्यो । मेरो ह्याट्रिक पूरा भयो । यसअघि मैले बंगबन्धुमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेको थिएँ । 

नाकाबन्दी बिर्साउने त्यो गोल 
कसैले विश्वास नै नगरेको समयमा नेपाल १२औँ सागको फुटबल स्पर्धाको फाइनलमा पुग्यो । अर्कोतिर नेपालको परस्पर प्रतिस्पर्धी भारत हाम्रो प्रतिद्वन्द्वी रह्यो । माल्दिभ्सलाई अन्तिम मिनेटमा हराएपछि हामी सबै खेलाडी उत्साहित भयौँ । अब नेपालले भारतलाई पनि हराउनेछ । त्यस समयमा भारत र नेपालबीचको उपाधि भिडन्तलाई अर्कै रूपमा हेरिएको थियो ।

नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको थियो । भारतको नाकाबन्दीको समयमा नेपाली जनतामा चर्को रिस थियो । नाकाबन्दीका कारण नेपाली जनताको दैनिकी कष्टकर बनेको थियो । खेलाडीमा पनि त्यसको इख बेग्लै थियो । 

नाकाबन्दी लगाएको भारतलाई उनीहरूकै भूमिमा हराउने उच्च मनोभाव हामीसँग थियो । यसले पनि खेलाडीमा छुट्टै ऊर्जा दियो । उपाधि मात्र नभएर भारतविरुद्ध नाकाबन्दीको बदलासमेत लिन सकिन्छ भन्ने थियो । फाइनलमा हाम्रो ऊर्जा भनेको यही इख थियो । भारत र नेपाली खेलाडी इन्दिरा गान्धी रंगशालामा उत्रियौँ । भारतले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता लियो । हाफटाइमपछि चेन्जिङ रुममा खेलाडीबीच एकले अर्कालाई हौसला दिने काम भइरहेको थियो । हामीले भारतलाई हराउन सक्छौँ भन्नेजस्ता शब्द बारम्बार सुनिन्थे । 

चेन्जिङ रुमबाट मैदानमा जाँदा हामीमा फरक जोस थियो । दोस्रो हाफमा हामीले फ्रिकिक पायौँ । भारतको पोस्टभन्दा २० यार्ड टाढाबाट नेपालले फ्रिकिक प्रहार गर्ने अवसर पाएको थियो । सो अवसरलाई प्रकाश बुढाथोकीले सदुपयोग गरे । उनको गोललाई दुर्लभ भन्नुपर्छ । अहिले त्यो गोलबारे निकै चर्चा हुन्छ । त्यो गोलपछि खुसीयाली मनायौँ । तर, १–१ को बराबरीमा यतिकै खेल कहाँ सकिन्थ्यो र ?

खेलको ७०औँ मिनेटमा एउटा टर्निङ प्वाइन्ट आयो । लेफ्ट कर्नरबाट प्रकाशले भारतीय रक्षकलाई बिट गरी बल क्रस गर्यो । म बक्सभित्रै थिएँ । भारतका उत्कृष्ट रक्षक सन्देश झिंगन र मसँगै थियौँ । उसले बल रोक्न हेडिङ गर्यो । म ठयाक्कै ऊभन्दा पछाडि थिएँ । झिंगनले बल भेट्टाउन सकेन । त्यसवेला मेरो टाइमिङ मिल्यो । एकैपटक मेरो जम्प र स्विङ पनि ठ्याक्कै मिल्यो । मैले एक्रोब्याटिक गोल गरेँ । मेरो यस गोलसँगै नेपाल भारतविरुद्धको स्वर्ण भिडन्तमा २–१ ले अगाडि रह्यो । पछि मेरो निर्णायक गोलले नै नेपाली फुटबलले सागमा २३ वर्षपछि स्वर्ण पदक जित्यो । 

गोलपछिको मुभमेन्ट मलाई याद हुँदैनथ्यो । जब मैदान पछाडि फर्केर हेर्थेँ, तब म त साथीहरूभन्दा निकै टाढा हुन्थेँ । कहिले दर्शकतिर जाने, कहिले मैदानको कुनै कुनामा जाने गर्थेँ । भारतविरुद्धको निर्णायक गोल गर्दा मैले यसै गरेको थिएँ । वास्तवमा त्यो गोल करिअरकै स्मरणीय थियो । 

See More On

सुझावित समाचार