दरबार रोधीले वार्षिकोत्सवमा पाँच कलाकारलाई सम्मान गर्ने

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

दरबार रोधी क्लबले वरिष्ठ लोकगायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । दरबारमार्गमा रहेको यो रोधीले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा बस्नेतलाई भव्य समारोहबीच सम्मान गर्ने भएको हो।

‘छोरीभन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगर्नी हो’जस्ता चर्चित लोकगीतहरू गाएका ८१ वर्षी बस्नेतले समाजका विकृति, विसंगती, कु–संस्कारहरूलाई लोकगीतमार्फत जनतामा ल्याएको भन्दै सम्मानित गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए। गिरीका अनुसार लोकदोहोरी गायनमै पुर्याएको योगदानको कदर गर्दै लोकगायक बद्री पंगेनी, सुनिता दुलाल र कृष्ण आँसुलाई पनि विशेष सम्मान प्रदान गरिनेछ। त्यस्तै, पत्रकारका तर्फबाट ऋषि धमलालाई विशेष सम्मान दिने निर्णय भएको छ।

हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा सर्जकहरूलाई सम्मान गर्दै आएको दरबार रोधीले यसपटकबाट कलाका क्षेत्रमा कलम चलाउने पाँच पत्रकारहरूलाई समेत दरबार रोधी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ। अनलाइन खबरका विष्णु शर्मा, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी, सेतोपाटीका सुशील नेपाल, रातोपाटीका नरेन्द्र रौले र मज्जाको टिभी डटकमका आयशा दाहाललाई पाँच–पाँच हजार नगद राशिसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरेको हो।

दरबार रोधी क्लबले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तीन दिन भव्य रूपमा वार्षिकोत्सव मनाउने निर्णय गरेको छ। ३२ जेठ शुक्रबार हुने उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा पशुपति शर्मा, दुर्गेश थापा, टीका पुन, पूर्णकला बिसी, करिश्मा ढकाललगायत दर्जनौँ कलाकार तथा मोडल सहभागी हुनेछन्।

सुझावित समाचार