बागमती सरकार चालू आवकै हाराहारीमा बजेट ल्याउँदै

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि  ६० अर्ब  रुपैयाँबराबरको बजेट ल्याउने तयारी भएको हो। 

आगामी आवको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गराइसकेको बागमती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ। प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए। 

आर्थिक तरलता, न्यून आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालू आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले बताए। आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए। आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ।
 
बागमती सरकारले चालू आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ। विनियोजित बजेटमध्ये चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ  ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ  ५० करोड रुपैयाँ  रहेको छ।  

सुझावित समाचार