भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा उसका छिमेकी देशका नेता नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेलगायत सहभागी हुने भएका छन् । ती नेताले शपथग्रहण समारोहका लागि प्राप्त आमन्त्रण स्विकारिसकेका छन् ।
प्रधानमन्त्री दाहाल र हसिना दुवैले यसअघि भारतीय प्रधानमन्त्री मोदीलाई १८औँ लोकसभा चुनावमा एनडिएको विजयी प्रदर्शनका लागि बधाई दिएका थिए । बंगलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ ।
भारतको लोकसभा चुनावको मतगणना मंगलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपा २४० सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ । यो संख्या बहुमतभन्दा कम भए पनि भाजपालाई उसका गठबन्धन सहयात्री दलले साथ दिएसँगै सरकार बन्ने बाटो खुलेको हो ।