बाहिर देखिएजस्तो सौहार्दपूर्ण छैन चीन–रुस सम्बन्ध

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

सन् १९४९ डिसेम्बरमा माओ त्सेतुङ जोसेफ स्टालिनलाई भेट्न मस्को पुगेका थिए । नवगठित जनगणतन्त्र चीनका नेता माओ विश्व सर्वहाराका सहयात्री नेतालाई भेट्न उत्साहित थिए । भ्रमण स्टालिनको ७१औँ  जन्मोत्सवमा परेकाले भेट विशेष हुने माओको आशा थियो । तर, माओविपरीत स्टालिन भने चिनियाँ नेतालाई बराबरीका नेता ठान्दैनथे । (जुन अहिले चीनको रुससँगको व्यवहारको हकमा लागू हुन्छ ।) स्टालिनको नजरमा माओको उपयोगिता एसियामा साम्यवादको विस्तारमा एक सहयोगीका रूपमा मात्र थियो । 

सो भेटको तीन महिनापछि सन् १९५० फेब्रुअरीमा दुई नेताले चीन–सोभियत मैत्री, गठबन्धन र आपसी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गरे । तर, चीनसँगको घनिष्टताले आफूलाई नाफाभन्दा घाटा हुने स्टालिनको मूल्यांकन थियो । स्टालिनको चिन्ता थियो, जनवादी गणतन्त्र नजिकिँदा सोभियत संघले एसियामा हासिल गरेका लाभ जोखिममा पर्ने मात्र होइन, अमेरिकी हस्तक्षेप निम्तिने खतरा बढ्थ्यो । 

आज रुसी नेता र चिनियाँ नेताको हैसियत बदलिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ उनका रुसी समकक्षीप्रति स्टालिनले माओलाई हेरेझैँ हेयपूर्ण ढंगले हेरिरहेका छन् । पुटिनले पाचौँ कार्याकाल जितेपछिको पहिलो विदेश गन्तव्य चीनलाई बनाए । सो भ्रमणका क्रममा ७५ वर्षअघिको स्टालिन–माओको भेटघाटको झल्को देखियो । बाहिर देखिँदा सम्बन्ध सौहार्दपूर्ण देखिन्थ्यो । सीले पुटिनलाई तियनम्यान चोकमा भव्य समारोहबीच स्वागत गरे ।

पुटिनको मोटरकेट ‘ग्रेट हल अफ द पिपुल’अघि पुगेपछि राजकीय सम्मानमा तोपको सलामी दिइयो । चीनको जनमुक्ति सेनाको अक्रेस्टा समूहले रुसी राष्ट्रिय गानको धुन मात्र बजाएन, अघिल्लो पुस्ताका चिनियाँमाझ लोकप्रिय ‘मस्को नाइट्स’को धुनसमेत गुन्जायो । भेला भएका चिनियाँहरूले पुटिनको आगमनपछि हर्षोल्लास व्यक्त गरे । भ्रमणका क्रममा कैयौँ बिम्बात्मक तथा प्रपोगान्डाका छवि पनि देखिएका थिए ।  

पुटिनको पछिल्लो चीन भ्रमणका क्रममा ७५ वर्षअघिको माओको मस्को भ्रमणको झल्को देखियो, जहाँ स्टालिनले आफ्ना चिनियाँ पाहुनालाई हेयपूर्वक हेरेका थिए

पुटिनको पछिल्लो बेइजिङ भ्रमण चीन–रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठमा भएको थियो । त्यस अवसरमा दुई देशले ‘चीन–रुस संस्कृति वर्ष’को शुभारम्भ गरे । यस कार्यक्रमअन्तर्गत अब दुवै देशका दर्जनौँ सहरमा २३० वटा ‘सांस्कृतिक तथा कलात्मक’ कार्यक्रम आयोजना गरिनेछन् ।  

अहिले रुस चीनमाथि अत्यधिक निर्भर बनेको छ । यस परिपे्रक्ष्यमा पुटिन बेइजिङमा ओर्लिनुअघि नै उनका सीमा तय थिए । ७५ वर्षअघि स्टालिनको माओसँग सन्देह रहेजस्तै सीका पनि पुटिनसँग आशंका छन् । रुसका लागि चीनले गर्न चाहेका त्यागका स्पष्ट सीमा छन् । अर्थतन्त्रबाटै सुरु गरौँ । पछिल्ला केही समयभित्र, सीले जर्मन चान्सलर ओलाफ सोल्ज, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलगायत विभिन्न पश्चिमी नेतासँग भेटघाट गरे । 

सीसँगको घेटमा ती नेताले एउटै स्वरमा चेतावनी दिए– रुसको युद्ध प्रयासलाई सघाउने गरी चीनले ‘बहुप्रयोग हुने’ सामग्री तथा प्रविधि आपूर्ति गर्यो भने चिनियाँ व्यवसायले प्रतिबन्ध सामना गर्नेछ । सीले आफूलाई ती भनाइले कुनै प्रभाव नपरेको देखाउने प्रयास गरे । तर, पश्चिमी नेतासँगको सीको भेटपछि रुससँगको चिनियाँ निर्यात घट्नु संयोग मात्र होइन होला, जुन मार्च महिना मात्र १४ प्रतिशतले घटेको छ । खासमा चीनले वर्षको सुरुदेखि नै यान्त्रिक समान, उपकरण (विद्युतीय उपकरणसमेत) यान्त्रिक पार्टपुर्जाको निर्यात घटाउँदै लगेको देखिन्छ ।

४५ प्रतिशत हिस्सासहित चीन सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुक भएको र ऊबाट आपूर्ति घट्न थालेपछि क्रेमलिनमा चिन्ता बढ्न थालेको छ । त्यसमाथि चीनले ‘पावर अफ साइबेरिया–२’ नामक रुसबाट चीन ग्यास ल्याउने पाइपलाइन निर्माणप्रति न्यून उत्साह देखाउन थालेको छ । पावर अफ साइबेरिया–२ पाइपलाइनको निर्माण पुटिनका लागि कति महत्वपूर्ण छ भने उनले बेइजिङ भ्रमणमा उनको सरकारमा ऊर्जा सम्बन्धको जिम्मेवारी सम्हाल्ने उपप्रधानमन्त्री एलेक्ज्यान्डर नोभाकलाई पनि सँगै ल्याएका थिए । तर, नोभाकले पनि सम्बन्धित अधिकारीसँगको भेटघाटपछि जम्मा एक सम्झौता निकट भविष्यमा हस्ताक्षर हुनेबाहेक बढी आश्वस्त गराउन सकेनन् ।

पुटिनको माओले चाहेजस्तै आपसी प्रतिरक्षाको प्रतिबद्धता हुने पूर्णस्तरको सैन्य गठबन्धनको प्रस्ताव पनि असफल भएजस्तो देखिन्छ । उसो त चीनले रुससँग सयुक्त सैन्य अभ्यास आयोजना गरिरहेको छ । तर, साथमा उसले ‘सबैको हित हुने सहकार्य’को वकालत गरिरहेको छ, जुन प्रतिद्वन्द्वी गुट निर्माणको शीतयुद्धकालीन मानसिकताविपरीत धारणा हो  । आखिर सी किन रुस र पश्चिमबीचको सम्बन्ध सेतु हुने अहिलेको अवसर गुमाउने चाहन्छन् र ? सीको रुचि विवाद र झगडामा देखिँदैन, कम्तीमा खुला रूपमा त त्यस्तो देखिँदैन । तर, उता पुटिनको एजेन्डा भनेकै झगडा र विवाद मात्र देखिन्छ । यसरी दुई नेताको रुचि नितान्त भिन्न हुँदा चीन–रुसको सम्बन्ध एक दिन टुट्ने आकलन गर्ने थुप्रै छन् । 

प्रोजेक्ट सिन्डिकेटका लागि निना एल 
ख्रुस्चेभको आलेख

सुझावित समाचार