फिफा विश्वकप– २०२६ छनोट : युएईसँग नेपाल चार गोलले पराजित

सन् २०२६ को विश्वकप छनोटअन्तर्गत समूह ‘एच’मा नेपालले पाँचवटै खेल गुमाएको छ । विपक्षी पोस्टमा एक गोल पनि नगरेको नेपालले १८ गोल व्यहोरेको छ ।

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण
फिफा विश्वकप– २०२६ छनोट : युएईसँग नेपाल चार गोलले पराजित

युएईविरुद्ध प्रतिस्पर्धा गर्नुअघि अभ्यास गर्दै नेपाली खेलाडी (माथि), साउदी अरबको दमामस्थित रंगशालामा नेपाली समर्थक

नेपालले फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको एसियन छनोटमा खराब प्रदर्शन जारी राखेको छ । साउदी अरबको दमाम सहरमा बिहीबार भएको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ । नेपालले दुवै हाफमा समान दुई गोल व्यहोरेको थियो । नेपालले दोस्रो चरणको पाँच खेलमा विपक्षी पोस्टमा एक गोल पनि गर्न सकेको छैन, पाँच खेलमा १८ गोल व्यहोरेको छ । अब अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दै छ ।

एसियन छनोटको समूह ‘एच’मा नेपालले पाँच खेलमा एक जित पनि निकाल्न सकेन । नेपालले आफ्नो समूहमा सामना गरेको सबै प्रतिद्वन्द्वीसँग हारको सामना गरेको छ । युएईले पाँच खेलमा पाँचै जितका साथ सर्वाधिक १५ अंक बटुलेको छ । बहराइन ९ अंकका साथ दोस्रो तथा यमन ३ अंकसहित चौथो स्थानमा छ । पाँच खेल खेलेको नेपाल अंकविहीन छ । एएफसीले तटस्थ भूमिमा खेलाएको प्रतिस्पर्धामा नेपालको डिफेन्स फितलो रह्यो । 

दुई मिनेटको अन्तरमा नेपालले दुई गोल खाएको थियो । नेपालविरुद्ध दुवै गोल हरिब अलमुसारकले गरेका थिए । डिफेन्स लाइन सम्हालिन नपाउँदै युएईले खेलको १२औँ मिनेटमा अलमुसारकको गोलको मद्दतमा १–० को अग्रता लियो । अलहमादीको क्रसमा अलमुसारकले सटीक हेडिङ गरेका थिए । उनको हेडिङ रोक्न नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू अगाडि आएका थिए । तर, उनले विपक्षी खेलाडीको हेडिङ गोल रोक्न सकेनन् । 

खेलको १४औँ मिनेटमा अलमुसारकले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा लिँदै युएईलाई २–० को अग्रता लिए । डिबक्सभित्र अली सलेहको उत्कृष्ट पासमा उनले चिप गर्दै गोल गरेका हुन् । नेपालले मध्यान्तरअघि राम्रो अवसर गुमाएको थियो । दोस्रो चरणमा विपक्षी पोस्टमा एक गोल पनि गर्न नसकेको नेपालले युएईविरुद्ध अवसर निकालेको थियो । तर, नेपालले त्यसको सदुपयोग भने गर्न सकेन । खेलको ३६औँ मिनेटमा सनिशको क्रसमा जिलेस्पीजंग कार्कीको गोल प्रयास क्रसबारबाट माथि गएको थियो । 

नेपालको दुई प्रहार क्रसबारमा
खेलको ३७औँ मिनेटमा सनिशको क्रसमा नै सञ्जीव विष्टको हेडिङ क्रसबारमा लागेको थियो । खेलको ३८औँ मिनेटमा विशाल बस्नेतको प्रहार पनि क्रसबारमा लागेको थियो । पहिलो हाफको तुलनामा नेपालले दोस्रोमा केही सुधारिएको प्रदर्शन गरेको थियो । तर, गोल फर्काउन सकेन । मध्यान्तरपछिको सातौँ मिनेटमा अम्रोले युएईलाई ३–० को बलियो अवस्थामा राखे । उनले हमदनको पासमा सहजै डिबक्समा गोल गरे । खेलको ७५औँ मिनेटमा युएई ४–० ले अघि रह्यो । अब्बासले नेपाली डिफेन्सको कमजोर फाइदा लिँदै सहजै गोल गरे । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले युएईविरुद्ध वसन्त जिम्बालाई पहिलो ११ मै राखेका थिए । खेलको २१औँ मिनेटमा वसन्त मैदानबाट बाहिरिएका थिए । 

नेपालले युएईसँग खेलेको यो तेस्रोपटक हो । यसअघि युएईसँग दुईपटक खेल्दा नेपाल दुवैपटक पराजित भएको थियो । नेपालले पहिलोपटक सन् १९८४ मा एसियन कप छनोटमा साउदी अरेबियामै युएईसँग खेलेको थियो । जसमा नेपाल ११–० को फराकिलो अन्तरले पराजित भयो । सन् २०२६ को विश्वकप छनोटको पहिलो खेलमा पनि नेपाल युएईसँग ४–० ले पराजित भएको थियो ।

कप्तान किरणको ९९ अन्तर्राष्ट्रिय खेल
नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नेपाली राष्ट्रिय टोलीबाट ९९ अन्तर्राष्ट्रिय खेल पुर्याएका छन् । युएईसँग खेल्दा उनले ९९ ‘क्याप’ पुर्याएका हुन् । छनोट चरणको आगामी मंगलबार यमनसँग दमाममा खेल्दा उनले सय खेल पूरा गर्नेछन् । किरणले २४ मे २००८ मा डेब्यु गरेका थिए । एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध पहिलोपटक खेलेका थिए । उनी पूर्वखेलाडी राजुकाजी शाक्य र विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक खेल खेल्ने खेलाडी बनेका थिए ।

सुझावित समाचार