‘देशको गृहमन्त्रीले हावामा गोली हान्ने होइन’

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर  अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको, तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे। 

महामन्त्री शर्माले सहकारीपीडितमाथिको छानबिन समितिको गठन हुन सकारात्मक भए पनि विश्वासको मत लिने समयावधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको बताए। 

उनले गिरीबन्धु टी स्टेटका सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्माले विगतमा कांग्रेसले जग्गा बेचेकोजस्ता आरोपयुक्त अभिव्यक्ति दिएकामा चिन्ता व्यक्त गर्दै त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्न गृहमन्त्रीसमक्ष आग्रह गरे। 

उनले कांग्रेसलाई अलोकतान्त्रिक दल भन्ने हैसियत अन्य दलको नहुने जिकिर गरे। देशको सूचना विदेशीलाई बेचेको आरोप कांग्रेसका सांसदलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट लगाइएकामा आपत्ति जनाउँदै उनले भने, ‘देशको गृहमन्त्रीले आवश्यक पर्दा गोली हान्न आदेश दिने हो, हावामा गोली हान्ने होइन।’

सुझावित समाचार