प्रेरक प्रसंग : जीवनको गणित

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

एकजना राजा एक बिहान टहल्न भनेर आफ्नो महलबाट एक्लै निस्कन्छन् । बाटोमा उनले एउटा किसानलाई पसिनाले निथु्रक्क भिज्दै आफ्नो खेतमा काम गरिरहेको देख्छन् । राजाले सोध्छन्, ‘भाइ, तिमी यति धेरै मिहिनेत गर्छाै, दैनिक कति कमाउँछौ ?’ किसानले उत्तर दिन्छ, ‘सुनको एक सिक्का ।’ राजाले फेरि सोध्छन्, ‘त्यो स्वर्णसिक्का के गर्छाै ?’ 

किसानले भन्यो, ‘महाराज ! एकचौथाइ भाग म आफैँले खान्छु । दोस्रो चौथाइ भागले उधार–लगानी गर्छु । तेस्रो चौथाइ भागले ब्याज तिर्छु र बाँकी एकचौथाइ हिस्सा लगेर कुवामा हालिदिन्छु ।’ किसानले भनेको कुरा राजाले बुझ्न सकेनन् । उनले भने, ‘भाइ, पहेलीमा नबताऊ न ! सीधा–सीधा बताऊ । किसान मुस्कुराउँदै भन्छ, ‘महाराज म पहिलो चौथाइ हिस्साले आफू र आफ्नी श्रीमतीको पेट पाल्छु । 

दोस्रोले आफ्नो बालबच्चालाई खुवाउँछु किनकि बुढेसकालमा उनीहरूले नै मलाई पाल्छन् । तेस्रो चौथाइ हिस्सा म आफ्ना बुढा बाआमालाई खुवाउँछु, किनकि उनीहरूले मलाई लालनपालन गरी बढाएका हुन् । यसैले म उनीहरूको ऋणी हुँ । यसरी म उनीहरूको ब्याज तिर्छु । बाँकी चौथाइ हिस्सा म दान–पुण्यमा लगाउँछु, ता कि मृत्युपछिको परलोक सुध्रियोस् । राजा किसानको यो इमानदार कुरा सुनेर एकदमै खुसी हुन्छन् । 
 

सुझावित समाचार