कर्णाली प्रदेशकाे आगामी आर्थिक वर्षको बजेट लक्ष्य दिगो विकास

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेश दिगो विकास राखेर बजेट ल्याउने बताए। 

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संवैधानिक मार्गदर्शन, समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय सोच र समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना पूरा गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश प्रमुख तिलक परियारले बताए। 

‘यसका लागि प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाइएको छ। कर्णालीवासीको विकास र समृद्धिको तीव्र आकांक्षालाई सम्बोधन गर्न वर्तमान संरचना र कार्यप्रणालीमा क्रमशः गुणात्मक सुधार गर्दै लगिएको छ,’ उनले भने, ‘प्रदेश सरकारको कार्य जिम्मेवारीमा पर्ने विषयहरूमा थप कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ।’ 

कर्णाली प्रदेश निजामती सेवा, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐनलगायतका महत्त्वपूर्ण कानुन निर्माण भई कार्यान्वयनमा ल्याइएको र विपद्को समयमा सरकारको उपस्थिति र सक्रियतालाई आत्मसात् गर्दै भूकम्पलगायतको विपद्को पूर्वतयारी, खोज, उद्धार, उपचार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनामा प्रदेश सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै लगिएको प्रदेश प्रमुख परियारले बताए।
 
‘कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र सेवारत सबैको सामूहिक विपद् दुर्घटना बिमा गरिएको छ,’ उनले भने, ‘कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ।’ 

मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन प्रदेशका सबै वडामा कर्णाली प्रदेश सरकारको उपस्थिति रहेको र विषयगत मन्त्रालयका कार्यक्रमलाई समेत रोजगार केन्द्रित बनाइएको प्रदेश प्रमुख परियारले बताए।

‘सडक, पूललगायतका पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ,’ उनले भने, ‘जनता आवास, विपन्न घर र एकीकृत बस्ती विकासलगायतका कार्यक्रममार्फत आवासको हक कार्यान्वयनमा सहयोग पुगेको छ।’ 

कृषिमा व्यावसायीकरण, कृषि तथा वन पैदावारमा आधारित उद्योग स्थापना र सञ्चालनलाई प्रोत्साहन गरिने र रैथाने बाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिएको परियारले बताए।
 
‘अर्गानिक प्रदेश र कृषिमा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रम सञ्चालनमा रहेका छन्,’ उनले भने, ‘समुदायमा आधारित वन संरक्षण तथा व्यवस्थापनमार्फत वनमा आश्रित गरिब तथा विपन्न जनतालाई हरित रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमको सुरुवात गरिनेछ।’ 

सीप सिकेका युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न प्रशिक्षण केन्द्रको स्थापना गरिने, प्रदेश अस्पताल तथा प्रदेशमातहत अन्य अस्पतालबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउँदै लगिने प्रदेश प्रमुख परियारले बताए। 

कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयन समीक्षाको आधारमा कर्णाली विकास र समृद्धिको लागि आगामी पाँच वर्षको दोस्रो पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको प्रदेश प्रमुख परियारले बताए। 

प्रदेश अस्पताललाई विशिष्टीकृत प्रेषण तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार र जनशक्तिको विकास गरिने प्रदेश प्रमुख परियारले बताए।

‘प्रदेश अस्पतालमा आपत्कालीन विशेषज्ञ स्वास्थ्यकर्मीसहितको ट्रमा इकाइ सञ्चालन गर्नुका साथै सिकलसेल एनिमिया परीक्षणको लागि आवश्यक उपकरणको व्यवस्था गरिनेछ,’ उनले भने, ‘भूकम्प प्रभावित नागरिकको मनोसामाजिक परामर्श तथा उपचारको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’ 
 

सुझावित समाचार