हावाहुरीले स्वास्थ्य संस्थाको छाना उडाए पनि सल्यानमा स्वास्थ्य सेवा प्रभावित भएको छ।
गत शनिबार साँझ आएको हावाहुरीले स्वास्थ्य संस्थाको जस्तापाताको छाना उडाएको थियो।जिल्लाको कालिमाटी गाउँपालिका-५, दमदुवालीमा रहेको दमदुवाली सामुदायिक स्वास्थ्य इकाइ र बागचौर नगरपालिका- ३ चौरपानीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन हावाहुरीले छाना उडाएको थियो।
स्वास्थ्य संस्थाको छाना उडाएपछि स्वास्थ्य चौकीबाट हुने सम्पूर्ण कार्य बन्द भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख सञ्जय शर्माले बताए।
उनले भने, ‘स्वास्थ्य चौकीको छाना उडाएपछि सम्पूर्ण सामग्री अमरज्योति माध्यमिक विद्यालयको क्यान्टिन कोठामा थुपारेका छौँ। वर्षातको समय आउन थालिसक्यो। सबै सामान एकै ठाउँमा राखेकाले नागरिकलाई सेवा दिन सकिरहेका छैनौँ।’
हावाहुरीले उडाएको झन्डै एक हप्ता हुनै लाग्दासमेत कुनै निकायबाटसमेत सहयोग नपाएको शर्माको गुनासो छ। अहिले सामान राखेको क्यान्टिनको आधा छानाेसमेत हावाले उडाएको छ।
वर्षातको समय आउन थालेकाले सम्बन्धित निकायले केही पहल गरी दिए जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने थियो उनले भने।
कालिमाटी गाउँपालिका ५ दमदुवालीमा रहेको चारकोठे स्वास्थ्य सामुदायिक स्वास्थ्य इकाइको छाना उडाएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गारेख थापाले जानकारी दिए।
स्वास्थ्य इकाइ व्यवस्थापन समिति र स्थानीयको पहलमा फालेको जस्तापाता हालेर गर्मी र पानीबाट बचाउने काम भएको उनको भनाइ छ।
आधा दर्जनभन्दा बढी विद्यालयको छाना उडायो
गत शनिबार साँझ आएको हावाहुरीले जिल्लाका आधा दर्जन बढी विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ।
हावाहुरीले सिजर्नशील माध्यमिक विद्यालय कालिमाटी- २ झिँगाने, जनसेवा आधारभूत विद्यालय, खड्गदेवी आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय दार्मा, दहवन आधारभूत विद्यालय कपुरकोट गाउँपालिका, अमरज्योति माध्यामिक विद्यालय बागचौर नगरपालिका र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिकामा क्षति पुर्याएको छ।
विद्यालय भवनको छाना उडाउँदा साना बालबालिकालाई पठनपाठन गराउन समस्या भएको लक्ष्मी आधारभूत विद्यालय दार्मा गाउँपालिकाका प्रधानाध्यापक भक्त चन्दले जानकारी दिए।
कक्षा १ र कक्षा ५ का विद्यार्थी पढ्दै आइरहेको भवन र अर्को अफिस भवनको छाना उडाएको उनको भनाइ छ। विद्यालयको हावाले छानो उडाएपछि कक्षा ४ का विद्यार्थीलाई चौरमा टिनले बारेर बढाइरहेको उनको भनाइ छ।
यस्तै, अमरज्योति माध्यामिक विद्यालयका शिक्षक दोर्ण शर्माले हावाहुरीले विद्यालयको क्यान्टिनको छाना उडाउँदा साना बालबालिकालाई खाजा बनाउन र खुवाउन समस्या भएको बताए।
गत शनिबार साँझ आएको हावाहुरीले जिल्लाका चार दर्जन बढी भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।