उपत्यकाको खानेपानीको स्रोत संरक्षणमा दीर्घकालीन योजना बनाउन सांसद गौतमको माग

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

रास्वपा सांसद सोबिता गौतमले काठमाडौं उपत्यकाको खानेपानीको स्रोत संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै काठमाडौं उपत्यकामा पानीको समस्याले विकराल रूप लिँदै गरेको बताइन् । 

‘एकैचोटि ठूलो परियोजना मेलम्ची परियोजना आउँछ–आउँछ भनेर काठमाडौंवासीलाई थुमथुमाइराखिएको छ,’ उनले भनिन्, ‘तर, सरकार ध्यानाकर्षण होस् यो परियोजना अघि बढेको तीसौँ वर्ष भइसक्दा पनि काठमाडौंवासीको रिङरोडभित्र मात्रै अलिअलि पानी आउँछ र रिङरोडभन्दा बाहिर अन्य ठाउँका मानिस काकाकुल नै भएर बस्नुपरेको छ अवस्था छ ।’ 

हालसम्म ट्यांकर तथा जमिनमुनिको पानी प्रयोग गरेर काठमाडौं उपत्यकावासीहरूले पानीको समाधान अलिकति गरिरहेको भन्दै सांसद गौतमले जमिनमुनिको पानी पनि सुक्दै गइरहेको उल्लेख गरिन्।

‘अब पनि सरकार दीर्घकालीन योजना र मध्यकालीन योजना बनाउने कुरामा सचेत हुन सकेन भनेदेखि यसले नसोचेको एकदमै थेग्नै नसक्ने विकराल रूप लिँदै छ भन्ने कुरामा सरकार सचेत होस्,’ उनले भनिन्।

देशैभरि पानीको स्रोत सुकिरहेको भन्दै सांसद गौतमले समयमै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सुझावित समाचार