सहकारीमा बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्ने भएको छ।
बैठक बुधबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठकलगत्तै सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा बस्दै छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीमा बचत गरेको रकमको अपचलन तथा रकम फिर्तालगायतको माग राखेर लामो समय सदन अवरुद्ध गरेपछि दलहरूबीच संसदीय छानबिन समिति बनाउने सहमति भएको हो। समिति गठन भएपछि सदन सञ्चालन भएको छ। अहिले सदनमा आगामी वर्षको बजेटमाथि छलफल जारी छ।
सहकारी ठगी प्रकरण छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको छ। गत मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको हो।