‘बिउबिजन प्रयोगशाला व्यवस्थापन प्रणाली’ नामको अनलाइन सफ्टवेयर सुरु भएपछि किसान खुसी

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

मकैको बिउ उत्पादन गर्दै आएका बिमल एग्रो फर्म तथा रिसर्च सेन्टरका तीर्थ सुवेदीले विगतमा आफ्नो खेत निरीक्षण र बिउको नमुना परीक्षण गराउन धेरै मिहिनेत गर्नुपर्यो । तर, यसपटक कार्यालयबाटै उनलाई खेत निरीक्षण गर्न आउँदै छौँ भन्ने फोन आयो । कार्यालय प्रमुखसहितको  प्राविधिक टिम आएर उनको  खेत निरीक्षण भयो ।

चितवनको उन्नत बिज वृद्धि कृषक समूहका अध्यक्ष उमनाथ पौडेलले बिउको प्रतिवेदन र रिपोर्टहरू अफिसमै बसेर प्राप्त हुन थालेपछि झन्झटिलो प्रक्रिया अन्त्य भएको बताए । उनले भने, ‘समय छुट्याएर कार्यालय जाने काम  घटेको छ भने यातायात खर्च पनि बचेको छ । काम पनि छिटो भएको छ।’ 

बिउ उत्पादक कृषक, कृषि समूह, कृषि सहकारी तथा कम्पनीहरूको सहजताका लागि बागमती प्रदेशले अनलाइन सफ्टवेयरको निर्माण गरेपछि अहिले बागमती प्रदेशका बिउ उत्पादकहरू खुसी छन् । गुणस्तरीय बिउबिजनका लागि बागमती प्रदेश सरकारले ‘बिउबिजन प्रयोगशाला व्यवस्थापन प्रणाली’ नामको अनलाइन सफ्टवेयर सुरु गरेको हो । 

बागमती प्रदेशको बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख राजन ढकालका अनुसार सफ्टवेयरको निर्माणपछि कार्यालय नै आउनुपर्ने बाध्यता हटेको छ । सफ्टवेयरमार्फत बिउबिजनको गुणस्तर नियमनको सन्दर्भमा खाद्य बाली निरीक्षण, नमुना संकलन, नमुनाको प्रयोगशाला परीक्षण र बिउ प्रमाणीकरणलगायत बिउबिजनसम्बन्धी सबै सेवा प्रदान हुन्छ । 

www.seedlab.bagamati.gov.np अर्थात् बिउबिजन प्रयोगशालाको आधिकारिक अनलाइन पोर्टलबाट नै बिउ उत्पादकले खेत निरीक्षणसम्बन्धी पूर्वजानकारी फारम, आपूर्तिकर्ता र मागकर्ता रजिस्ट्रेसन फारम भर्न सक्छन् भने बिउ परीक्षण प्रतिवेदन पनि प्राप्त गर्न सक्छन् । फारम राखिएको सम्पर्क नम्बर र ठेगानाबाट नै कार्यालयले बिउ उत्पादकलाई सम्पर्क गर्छ। सफ्टवेयरबाट नै प्रतिवेदन तयार हुन्छ ।

ढकालले भने, ‘प्रविधिको प्रयोग गर्दै किसानलाई छिटो र सहज रूपमा सेवा दिन यो सूचना प्रणली सुरु गरेका हौँ । जसले बिउबिजनको एकीकृत सूचना पनि राख्दै नीति–नियम बनाउन पनि मद्दत पुग्ने विश्वास छ ।’ ‘बिउबिजन प्रयोगशाला व्यवस्थापन प्रणाली’ अनलाइन सफ्टवेयरसँगै कार्यलयको वेबपोर्टलबाट बिउबिजनसम्बन्धी जानकारीहरू, बिउ प्राविधिक तथा संस्थाहरूको विवरण, प्रयोगशालामा परीक्षण भएको बिउबिजनको सारांश रिपोर्टहरू पनि सहजै प्राप्त हुने व्यवस्था कार्यालयले मिलाएको छ। 

सुझावित समाचार