पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राज्यका गोप्य सूचना चुहाएको अभियोगमा सफाइ पाएका छन्। तर, अर्को एउटा मुद्दामा दोषी ठहर भएको हुनाले उनी जेलबाट छुट्ने भने छैनन्।
फेब्रुअरीमा भएको निर्वाचनअघि ७१ वर्षीय खानलाई तीनवटा मुद्दामा जेल सजाय सुनाइएको थियो। उनले राजनीतिक दुराशय राखेर आफूविरुद्ध ती मुद्दा हालिएको दाबी गरेका थिए।
सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हटेका थिए। उनलाई एउटा कूटनीतिक दस्तावेज सन् २०२२ मा सार्वजनिक गरेको अभियोगमा मुद्दा परेको थियो। उक्त मुद्दामा उनलाई जनवरीमा १० वर्षको जेल सजाय सुनाइएको थियो।
इस्लामाबाद उच्च अदालतले उनको पुनरावेदन स्वीकार गर्दै सोमबार उनले सफाइ दियो। तर, उनी तत्काल कारागारबाट छुट्ने सम्भावना छैन। क्रिकेटबाट अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका खान पछि राजनीतिमा प्रवेश गरेका हुन्।
इमरान खानकी पत्नी बुसरा बिबी पनि जेलमा छिन्। बुसराको पारपाचुके भएको निकै छोटो समयमा उनले इनरान खानसँग बिहे गरेको भन्दै यसअघि अदालतले उनीहरूको सम्बन्धलाई गैरइस्लामिक र गैरकानुनी ठहर गरेको थियो। उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए। बिबिसीबाट