मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो।
भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे।
‘एमसिसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ,’ उनले भने। एमसिसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्ड–खण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो। परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसिए नेपालमार्फत समाधान हुने विश्वास मन्त्री पुनले दिलाए।
उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारणलाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे अवगत गराएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए।
झन्डै ६० अर्ब रुपैयाँबराबरको एमसिसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारणलाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ। सम्झौताअनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसिसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकारले आफ्नोतर्फबाट लगानी गर्नेछ।
एमसिसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन निर्माणमा खर्च गरिनेछ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारणलाइन निर्माण गर्नेछ । तीन सय १५ किलोमिटर लामो डबल सर्किट ४ सय केभी प्रसारणलाइन निर्माण हुनेछ।
यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भुमहीमा सबस्टेसन निर्माणको काम अघि बढेको छ। यस्तै, रातमाटेबाट काठमाडौंको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चार सय केभी सबस्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणकै चार सय केभी सबस्टसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह गरिनेछ। चार सय किलोभोल्ट उच्च क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो नेपालको हालसम्मकै ठूलो प्रसारणलाइन हो।
आयोजनाअन्तर्गत आठ सय ५६ वटा टावर बन्नेछन्। काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारणलाइनले छुन्छ।
परियोजनाअन्तर्गत तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत, सम्भार र गुणस्तर सुधारको काम हुनेछ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडकखण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्खाचाँखीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किलाेमिटर सडक मर्मतको काम अघि बढेको छ। एमसिसीअन्तर्गत मध्य पहाडी पुष्पलाल लोकमार्गको पोखरा–बाग्लुङ सडकखण्ड विस्तारको काम करिब सकिएको छ।