नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ। नेपालका नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, पाकिस्तानी मूलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘वाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहादद्वारा निर्देशित ‘परविन’लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन्।
मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्र प्रदर्शन हुनेछन्।
महोत्सवको उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ। चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ।
आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अनुसार गत वर्ष टोरन्टो फिल्म फेस्टिभलमा छनोट भएको सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ। त्यस्तै, २०२३ मा भेनिस फिल्म फेस्टिभलमा छनोट भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’को प्रदर्शनसँगै महोत्सव समापन हुनेछ।
ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक रोबर्ट इ फ्रेको इन सर्च अफ रिजोलुसन’ र जर्मनी निर्देशक रिक मिनिकको ‘द स्ट्रेट गाइज’ गरी दुई चलचित्र प्रदर्शन हुनेछन्। ग्लोबल पिस फिल्म फेस्टिभल र नेपाल अमेरिका फिल्म सोसाइटी महोत्सव सुरुवातदेखि नै सहकार्यरत छन्।
राजन कठेत तथा सुनिर पाण्डे निर्देशित अन्तर्राष्ट्रिय पुरस्कार विजेता वृत्तचित्र ‘ढोरपाटन’ र निर्देशक केसाङ क्षेतेन निर्देशित वृत्तचित्र ‘डाइभरसिटी प्लाजा’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्।
प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनाेटका लागि निर्णायकमण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।