सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेद उत्पन्न हुँदा एमालेले नै दोष पाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) उच्छृंखल भइरहेका भन्दै संयमित रहन आग्रह गरे।
बालेनमार्फत लाखौँ युवाले नेपालको भविष्य खोजेको उल्लेख गर्दै उनले भने, ‘तर, पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि तपाईं धोका दिँदै हुनुहुन्छ।’
वरिष्ठ नेताहरू जेल बसेर संघर्ष गरेकै कारण बालेन काठमाडौंको मेयर बनेको स्मरण गराउँदै भट्टराईले भने, ‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो। हामीलाई दुःख लागेको छ। तिनै नेताहरू जेल बसेबापत तपाईं काठमाडौं महानगरको मेयर हुनुभएको हो।’
बालेनले चुनाव जितेपछि ओलीले तबला उपहार दिएको प्रसंग उल्लेख गर्दै भट्टराईले त्यसको विशेष अर्थ रहेको बताए। ‘तबला दिनुभयो हाम्रो अध्यक्षले सोची–विचारीकन। अब तपाईं तबलाको धुनमा काम गर्नुस् भनेर । तबलाको अर्थ करुणा, प्रेम, सदभाव, संयमता हो। तर, काठमाडौं महानगरपालिकाका प्रमुखले संयमता गुमाउँदै जानुभएको छ।’