सडक डिभिजनविरुद्ध कानुनी कारबाहीमा जाने महानगरको चेतावनी, सडक मर्मतको खर्च महानगरबाटै असुलिने सडक विभागको दाबी
सडक डिभिजन कार्यालय काठमाडौंको टोली सोमबार बिहानै काठमाडौं महानगरपालिकाले १२ जेठमा काटेको सडक मर्मतका लागि न्युरोडस्थित जुद्धशालिक क्षेत्रमा पुग्यो । काटेको सडक टाल्न बिहान ८ बजे नै पुगेको टोलीलाई महानगरको नगर प्रहरीले रोक्न खोजे । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले सडक मर्मतका लागि डिभिजनले लगेको सामग्री छरपस्ट गर्न खोज्यो । तर, सडक डिभिजनको टोली पनि दलबलसहित पुगेका कारण नगर प्रहरी फर्कियो । सडक डिभिजनको टोलीले ९ बजेदेखि काम सुरु गर्यो । सडक मर्मत भइरहँदा जनप्रतिनिधिको टोली पनि जुद्धसालिक क्षेत्रमा पुगेको थियो । सडक डिभिजनको कामबारे जनप्रतिनिधि मात्रै होइन, स्थानीयसमेत विभाजित बनेका थिए । विभाजित स्थानीयबीच झन्डै झडपसमेत भएको थियो ।
न्युरोडका रत्नबहादुर शाक्य सडक डिभिजनले गरेको कामप्रति रुष्ट छन् । उनले पहिला पार्किङ बनेको ठाउँलाई फुटपाथ बनाउनु गलत नभएको दाबी गरे । ‘सडक डिभिजनले यसरी जबर्जस्ती गर्नुहुन्नथ्यो । महानगरको काम ठीक थियो,’ शाक्यले भने । यस्तै, मासानगल्लीकी शोभा चित्रकार पनि सडकपेटी ठूलो बनाउने काम गलत नभएको बताउँछिन् । ‘पेटी त ठूलो हुनुपर्छ नि, हामी नै हिँड्ने त हो । पहिला यत्रो ठाउँमा गाडी राख्दा केही भएन । अब अलिकति पेटी बढाउँदा के हुन्छ ? फुटपाथ सानो भएकाले सडकबाटै हिँड्न बाध्य छौँ,’ उनले भनिन्, ‘सानो पेटीमा रेलिङसमेत भएकाले निकै अप्ठ्यारो परेको छ ।’
न्युरोड क्षेत्रमा महानगरले फुटपाथ विस्तार गर्न लागेपछि गत आइतबारदेखि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरअन्तर्गत सार्वजनिक निर्माण विभागका अनुसार न्युरोड क्षेत्रमा पहिला सवारीसाधन पार्किङ गर्ने गरिएको भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको हो । वडा नं. २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले भने, फुटपाथ विस्तार गर्न नहुने अडान लिँदै आएका थिए ।
महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्धसालिक र इन्द्रचोकसम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ । यस्तै, जुद्धसालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ । पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइनेछ । यसपछि ६० प्रतिशत फुटपाथ र ४० प्रतिशत सडक हुनेछ । फुटपाथ विस्तारका लागि तीन करोड १९ लाख लागतमा आरोग्य साइटेक जेभीले ३ जेठमा कार्यादेश पाएको थियो । सोहीअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडकखण्डका पैदलमार्ग फराकिलो गर्ने काम सुरु भएको हो । यी क्षेत्र महानगरको वडा नम्बर २२, २३ र २४ मा पर्छ ।
महानगरले अटेर गरेपछि आफैँले मर्मत गर्यौँ : सडक डिभिजन
सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो अधिकार क्षेत्रभित्रको सडकमा महानगरले स्पष्ट उद्देश्यविना काम गरेको र पुनर्स्थापना गर्न समय दिँदासमेत अटेर गरेपछि आफैँले गर्नुपरेको जनाएको छ । ‘हाम्रो जिम्मा रहेको सडकमा स्पष्ट उद्देश्यविना काम गरियो । उक्त सडक दुई दिनभित्र पुनर्स्थापना गर्न समय दिएका थियौँ । तर, महानगरले काम गरेन । काम नभएपछि बर्खालाई मध्यनजर गरेर मर्मत गरेका हौँ,’ सडक डिभिजन काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने ।
उनका अनुसार सडक डिभिजनले सोमबार मर्मत गर्दा लागेको लागत महानगरले व्यहोर्नुपर्नेछ । सडक डिभिजनले १६ जेठमा दुई दिनको समय दिएर महानगरलाई सडक पुनर्स्थापना गर्न पत्र पठाएको थियो । उनले महानगरले विनाअनुमति सडक काटेको आरोपसमेत लगाए । ‘उहाँहरूले कुनै वेला काम गर्नका लागि जानकारी गराएको देखिन्छ । तर, अनुमति लिनुभएको छैन । कुनै पनि काम गर्न जानकारी गराएर मात्र भएन नि, अनुमति नै लिनुपर्छ,’ उनले भने ।
महानगर भन्छ– फुटपाथ विस्तार रोकिँदैन
सडक डिभिजनले जुद्धसालिकदेखि इन्द्रचोकसम्मको सडक पुनर्स्थापना गरे पनि महानगरले फुटपाथ विस्तार गर्नबाट पछि नहट्ने जनाएको छ । वडा नम्बर २४ का अध्यक्ष विनोद राजभण्डारीले सडक डिभिजनले विनाजानकारी आएर सडक पिच गरेको बताए । ‘नागरिकको सुरक्षित रूपमा हिँड्न पाउने अधिकार संरक्षण गर्न खोज्दा सडक डिभिजनले भिड लगाएर सडक पिच गर्यो,’ उनले भने, ‘फुटपाथ विस्तार गर्ने भनेर गत वर्ष नीति तथा कार्यक्रमबाटै पारित भएको छ । ६ महिनाअघिदेखि छलफल, बहस चलिरहँदा कुनै विरोध भएन । एकाएक अहिले विरोध गरेर राजनीति गर्न खोजियो । ममाथि राजनीति गर्न खोजियो ।’
वडाध्यक्ष राजभण्डारीले स्थानीयसँग छलफल र बहस गरेर काम नरोक्ने बताए । महानगरका प्रमुख बालेन्द्र साह (बालेन)को सचिवालयले पनि नागरिकले चाहेको काम जसरी पनि गर्ने जनाएको छ । ‘आज कसको कुन नियतले काम भयो हामी अनभिज्ञ छौँ । तर, जनताले चाहेको काम जसरी पनि गर्छाैँ,’ बालेनका स्वकीयसचिव भूपदेव साहले भने । उनले सडक डिभिजनविरुद्ध कानुनी कारबाहीमा जानेसमेत बताए ।
अभियन्ता श्रेष्ठ भन्छन्– काठमाडौं महानगरले वडा–वडा जुधाउन खोज्यो
अभियन्ता गणपतिलाल श्रेष्ठ भने ऐतिहासिक न्युरोड क्षेत्रमा विनाअध्ययन फुटपाथ/पेटी विस्तार हुनुनहुने बताउँछन् । ‘महानगरको रणनीति वडावडालाई जुधाएर विभाजित गर्ने र आफूले सोचेको परिपूर्ति गर्ने मात्रै देखियो,’ उनले भने, ‘महानगरले न्युरोडको बारेमा केही दूरदर्शी सोचेको हुन सक्ला । त्यसका लागि बहस, छलफल गर्नुपर्यो । जनप्रतिनिधिमार्फत स्थानीयसँग कुरा राख्नुपर्यो । जुधाउने खेल मात्र खेलेर हुन्न ।’
प्रमोद खतिवडा सूचना अधिकारी, सडक डिभिजन काठमाडौं
हाम्रो जिम्मा रहेको सडकमा स्पष्ट उद्देश्यविना काम गरियो । उक्त सडक दुई दिनभित्र पुनर्स्थापना गर्न समय दिएका थियौँ । तर, महानगरले काम गरेन । काम नभएपछि बर्खालाई मध्यनजर गरेर मर्मत गरेका हौँ ।
विनोद राजभण्डारी वडाध्यक्ष, काठमाडौं महानगरपालिका–२४
नागरिकको सुरक्षित रूपमा हिँड्न पाउने अधिकार संरक्षण गर्न खोज्दा सडक डिभिजनले भिड लगाएर सडक पिच गर्यो । फुटपाथ विस्तार गर्ने भनेर गत वर्ष नीति तथा कार्यक्रमबाटै पारित भएको छ । ६ महिनाअघिदेखि छलफल, बहस चलिरहँदा कुनै विरोध भएन । एकाएक अहिले विरोध गरेर राजनीति गर्न खोजियो । ममाथि राजनीति गर्न खोजियो ।