जुगल–१ लाई नेपाल–कोरिया फ्रेण्डसिप पिक नामकरण गरिने निर्णय

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

जुगल गाउँपालिकाले जुगल–१ हिमाललाई नेपाल–कोरिया फ्रेण्डसिप पिक नामकरण गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धन गरी हिमाली क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने रणनीतिक लक्ष्य हासिल गर्न कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

नामकरणपछि गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले नयाँ पत्रिकासँग भने, ‘नेपाल–कोरियाको दौत्य सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन यस्तो निर्णय गरिएको हाे ।’ निर्णयले दक्षिण कोरिया खुसी भएर हिमाल आरोहण गर्न अन्य देशका पर्वतारोहीसहित पर्यटक लिएर आउने गाउँपालिकाले अपेक्षा राखेको छ ।

 दोस्रो प्रयत्नमा नेपाल र कोरियाका सात पर्वतारोहीले ६,५९१ मिटर उचाइको जुगल हिमाल २१ वैशाखमा सफलतापूर्वक आरोहण गरेका थिए । गाउँपालिकाले हिमाल आरोहण सफल भएको दिनलाई जुगल डेको रूपमा विभिन्न कार्यक्रम गरी बर्सेनि उत्सव मनाउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले ६ वैशाखमा पर्वतारोहीलाई खादामाला लगाएर जुगलतर्फ बिदाइ गरेका थिए । ‘दुवै निर्णय पास गरेर पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन संघीय सरकारले साथ दिने विश्वास लिएको छु,’ स्याङ्बोले भने, ‘कार्यपालिकाको निर्णय बोकेर पर्यटन मन्त्रालय जान्छु ।’

नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएकाे ५० वर्ष पुगेको अवसरमा पर्वतारोहीले हिमाल आरोहण गरेका थिए । यो अभियानलाई बर्सेनि लिएर जाने नेपाल–कोरिया कूटनीतिक सम्बन्ध तथा हिमाल आरोहण टिमका सहजकर्ता मीनबहादुर तामाङ मिलनले बताए । कोरियाली पर्वतारोही ओम ओंगिल, कुयी उन सु, किम दोङ जिन, ब्याक जोन मीन, ओम टे चुल,  नेपालका लाक्पा देण्डी शेर्पा र लामाबाबु शेर्पाले जुगलको सफल आरोहण गरेका थिए । 
 

सुझावित समाचार