दमक–चिसापानी सडक समयमा नबन्दा रतुवामा उर्लियो भेल
दमक–चिसापानी सडक ठेक्कामा लागेर पनि निर्माण कम्पनीको लापरबाहीले समयमा सडक नबन्दा दुईजनाको ज्यान गएको छ ।
सोमबार झापाको दमकबाट इलामको माङसेबुङका लागि छुटेको बोलेरोलाई रतुवा खोलाको भेलले बगाउँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका– ५ करिब ३० वर्षीया शर्मिला वानेम र माङसेबुङ– ३ का दुई वर्षीय बालक निहाङ लिम्बू छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले दमकबाट माङसेबुङ जाँदै गरेको लु१च ९४९१ नम्बरको बोलेरोलाई सोमबार साँझ ७ बजे रतुवा खोलामा आएको बाढीले बगाएको जानकारी दिए । बोलेरोमा ६ जना सवार थिए ।
उनीहरूमध्ये माङसेबुङ–३ की निरु लिम्बू घाइते रहेको र उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । अन्य तीनजना भने सकुशल रहेको जबेगूले बताए । रतुवा खोलामा बाढी आएका कारण गाडी भने निकाल्न नसकिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका दुईको शव रतुवा नदीमा आएको बाढीले बगाएर केही तलसम्म पुर्याएको थियो ।
सो दुर्घटना सडक डिभिजन र निर्माण कम्पनीको लापरबाहीले भएको स्थानीयको भनाइ छ । दमक–चिसापानी सडकखण्ड निर्माणको काम ठेक्काको मिति सकिँदा पनि सम्पन्न भएको छैन । मिति सकिएपछि काम गर्न तम्सिएको निर्माण कम्पनीले सडक बन्द गरेपछि स्थानीयले बर्खाको समयमा जोखिम मोलेर रतुवा खोलाको भएर यात्रा गर्नुपर्ने बाध्यता रहेको दुर्घटनापछि उद्धारमा खटिएका माङसेबुङ– ५ का देवराज आङदेम्बेले बताए ।
‘यो सडक बन्न थालेको धेरै भयो । समयमा काम हुँदैन । अनि बर्खा लागेपछि बाटो बन्द गरेर सडक बनाएको नाटक गर्छ । हामीले रतुवा खोलाबाट नै हिँड्नुपर्ने बाध्यता छ । बर्खा लागेपछि एक्कासी खोलामा बाढी आउँदा गाडी बगायो,’ उनले भने, ‘दुईजनाको मृत्युको जिम्मा सरकार र ठेकेदारले लिनुपर्छ । केही महिनाअघि यसरी नै बाटो बन्द गरिदिँदा एकजनाको ज्यान गयो । समयमा सडक नबनाउने भए अझै कतिले ज्यान गुमाउनुपर्ने हो, थाहा छैन ।’
बर्खाको समयमा बाटो छेकेर काम गर्दा यो दुर्घटना निम्तिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई बताउँछन् । ‘माङसेबुङबासीको तराईसँग जोड्ने यही मात्र बाटो हो । बर्खामा खोला आउँछ भनेर थाहा पाइपाई यसरी बाटो छेकेर काम गर्नुहुँदैनथ्यो । समयमा काम नसक्ने निर्माण व्यवसायी र खबरदारी गर्न नसक्ने सडक डिभिजनको लापरबाहीले यो दुर्घटना भयो,’ उनले भने, ‘बन्द गरेको बाटो तत्काल खोल्नुपर्छ । समयमा सडक नबनाउने भए अझै यस्ता गम्भीर दुर्घटना तिम्तिन सक्छ । सडक डिभिजन गम्भीर बनोस् ।’
दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग)को ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले एक महिनाअघि मात्र दुईवटा खण्डको ठेक्का तोडिसकेको छ । पहिलो खण्डको पटक–पटक थपिएको म्याद सकिँदा पनि काम सम्पन्न भएको छैन ।
म्याद सकिएपछि पनि ठेक्का तोड्नुको साटो म्याद नथपी काम गर्ने सुविधा निर्माण व्यवसायीलाई सडक डिभिजनले दिएको छ । सोमबारको दुर्घटना पनि यही खण्डमा भएको हो । निर्माण कम्पनीले काम गर्ने बन्दै सडक छेके पनि काम नगर्दा यहाँ गुड्ने सवारी रतुवा खोलाबाट गुड्दै आएका छन् ।
दुर्घटना भएको स्थल रहेको पहिला खण्डको सात किलोमिटरको छ । सडकको ठेक्का भने तोडिएको छैन । तर, काम भने सन्तोषजनक नभएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर देवले बताए । उक्त सडक निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो ।
कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो । तर, चौथोपटक थपिएको म्याद गत पुसमै सकियो । म्याद सकिए पनि म्याद थप नगरी काम भइरहेको छ ।
दमक–चिसापानी सडकखण्डको अन्य दुईवटा खण्डको ठेक्का भने तोडिएको छ । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको छ । दुवै खण्ड एकैपटक ठेक्का लागेको हो ।
दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएको थियो । त्यसपछि थपिएको दश महिनाको समय गत पुसमा सकियो । तर, त्यस अवधिमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र काम सकिएपछि ठेक्का तोडिएको हो ।