भ्रष्टाचार मुद्दामा शिक्षकसमेत दुईलाई सजाय

भ्रष्टाचार मुद्दामा सजाय पाएको सात वर्षसम्म सरकारी शिक्षककै रुपमा तलबदेखि पेन्सन

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

भ्रष्टाचारको मुद्दामा सजाय पाएको सात वर्षपछि पनि सरकारी शिक्षककै रुपमा जागिर खाएका एकजनालाई विशेष अदालतले भ्रष्टाचारका दुई दफाअनुसार सजाय सुनाएको छ ।

सोमबार विशेषले बाराका शिक्षक र प्रधानाध्यापकलाई कसूर कायम गर्दै सजाय निर्धारण गरेको हो । 

बाराका शिक्षक योगेन्द्रप्रसाद यादवलाई विशेष अदालतले भ्रष्टाचार निवारण ऐनको दुई वटा दफाअनुसार सजाय सुनाएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । 

यादवलाई विशेष अदालतले १६ वैशाख ०७३ मै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी सजाय सुनाएको थियो । विशेषका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरु पवन कुमार शर्मा र महेशप्रसाद पुडासैनीको इजलासले यादवलाई चार महिना कैद र ८८ हजार चार सय २५ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । 

यादव बाराको बरैनियास्थित श्रीराम प्राथमिक विद्यालय भर्वलियामा प्रधानाध्यापक हुँदा भ्रष्टाचार गरेको ठहर भएको थियो । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दस्तखत किर्ते गरी पटक पटक रकम झिकेको भेटिएको थियो । यसैमा उनलाई विशेषले पहिलो पटक दोषी ठहर गरेको हो । 

उनले सो तथ्य ढाकछोप गरी उक्त कसूर र फैसलाको जानकारी कसैलाई दिएनन् । उनले सरकारी कागजात लुकाइ नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट तलब भत्ताका साथै अवकाशपछिको निवृत्तिभरण समेत बुझेको भेटिएको छ । यस कसूरमा उनी दोस्रो पटक दोषी ठहर भएका छन् । उनलाई विशेषले दुई वटा कसूर गरेकोमा सजाय सुनाएको छ । 

उनलाई भ्रष्टाचार निवारण ऐनको दफा १२ बमोजिमको कसूरमा पनि सजाय सुनाइएको छ । उक्त दफामा सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नेलाई सजाय हुने उल्लेख छ । दफा १२ को कसूर गरेको भन्दै यादवलाई विशेषले एक वर्ष कैद तथा २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । 

भ्रष्टाचार निवारण ऐनको दफा १७ मा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्नेलाई सजाय हुने उल्लेख छ । यादव यस कसूरमा पनि दोषी पाइएका हुन् । 

उनले १६ लाख ९२ हजार रुपैयाँभन्दा बढीको नोक्सानी गरेको पुष्टि भएको छ । विशेषले उक्त बिगो यादवबाटै असुलउपर हुने फैसला गरेको छ भने २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । 

यसै मुद्दामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव पनि दोषी ठहर भएका छन् । उनले शिक्षक योगेन्द्रप्रसादलाई विशेषबाट सजाय भइसकेपछि पनि सो तथ्य लुकाएका थिए । 

शिक्षक योगेन्द्रप्रसादले ३० जेठ ०७३ मा दिएको राजीनामा स्वीकृतिका लागि प्रधानाध्यापक यादवले सात वर्षपछि बल्ला जिल्ला शिक्षा कार्यालय बारामा लेखेर पठाएका थिए । त्यसै आधारमा भ्रष्टाचारको कसूर ठहर भइ मुद्दा अन्तिम भएको भन्दै राजीनामा स्वीकृत भएको थियो । 

तर शिक्ष योगेन्द्रप्रसादले निलम्बित अवधि र बर्खास्त भएको अवधिपछि समेत निवृत्तिभरण बुझेका थिए । शिक्षकको यस कसूरमा प्रधानाध्यापकले मतियार भइ काम गरेको भन्दै सजाय सुनाइएको छ । प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादवलाई विशेषले एक वर्ष तीन महिना कैद र ८ लाख ४६ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने सजाय सुनाएको छ । 

यसै मुद्दाका अन्य पाँच वटै प्रतिवादीले सफाइ पाएका छन् । विशेषले वृजकिशोर प्रसाद, चेथारुप्रसाद कुर्मी, वेदप्रसाद पौडेल, दिनेशकुमार श्रेष्ठ र तुलाराम भण्डारीलाई सफाइ दिएको हो ।

सुझावित समाचार