यस वर्षको मनसुनमा हुन सक्ने जोखिम तथा क्षति आकलन गरी संघीय मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ पारित भएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकले कार्ययोजना पारित गरी सबै मन्त्रालय, विभाग तथा अन्य सम्बद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ।
समितिले प्रदेश सरकार, स्थानीय तहलाई आफ्नो भूमिकाअनुरूप कार्य गर्न अनुरोध पनि गरेको छ।
कार्ययोजनामा यस वर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने अनुमान छ। त्यसैगरी, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनुपर्ने आकलन पनि गरिएको छ।
प्राधिकरणको सभाहलमा बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गर्ने निर्णय गरेको छ। पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई र जोखिमको आकलन गरी प्रभावका आधारमा पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका काम गर्नेछ।
कार्ययोजनामा सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरूको मनसुन विपद् प्रतिकार्य योजनाका साथै खोज, उद्धार तथा राहत सामग्रीको मोज्दात एवं दक्ष जनशक्तिको विवरण, सम्पर्क व्यक्तिहरूको फोन नम्बरहरू पनि समावेश छ।
बैठकमा आफ्नो मन्तव्य राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले सबै निकायको जिम्मेवारी प्रस्ट पारिएकोले अब कार्यान्वयनको चरण आएको बताए। लामिछानेले कुनै नीति, नियम वा नियमावलीले नागरिकको ज्यान जोगाउने कार्यलाई बाधा पुग्न नहुने उल्लेख गर्दै कुनै नीतिगत अवरोध फुकाउन आफू तयार रहेको पनि आश्वासन दिए।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नै मन्त्रालयका जिम्मेवारी कार्यान्वयन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै निकायले कार्ययोजनामा तोकिएबमोजिम तैनाथी गरिहाल्नुपर्ने धारण राखे।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले प्रतिकार्यमा मात्रै राज्य सक्रिय हुने परम्पराबाट अगाडि बढेर पूर्वतयारीमा पनि गम्भीर भएर लाग्ने पहल सराहनीय भएको उल्लेख गर्दै स्वास्थ्य उपकरण, औषधि एवं स्वास्थ्य टोली तम्तयार अवस्थामा राखिने बताए।
जल तथा मौसमय विज्ञान विभागले यस वर्षको मनुसनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आकलन सार्वजनिक गरिसकेको छ।