किम्फको २१औँ संस्करण सम्पन्न

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २१औँ संस्करण सकिएको छ। आइतबार महोत्सवको समापनमा निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शन गरिएको थियो।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए।

किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्महरू देखाइएको थियो। काठमाडौं महानगरपालिका सह–आयोजक रहेको महोत्सवमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिएको थियो।

महोत्सवमा नेपाल–कोरिया मित्रताको ५०औँ वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन भएको थियो।

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सवमा फिल्म प्रदर्शनबाहेक अन्तर्क्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवर्द्धक बनाउन सघाएको अक्ष्यक्ष रम्यता लिम्बूले बताइन्।

विभिन्न समूहसँग सहकार्य र संयोजन गर्ने क्रममा किम्फमा स्टोरी टेलर्ससँगको सहकार्यमा माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज शीर्षकको प्रस्तुति, अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा वुमेन बिहाइन्ड द क्यामेरा शीर्षकको प्यानल छलफलको आयोजना गरिएको थियो।

यसैगरी, च्याम्पियनिङ योङ फिल्ममेकर्स– ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तर्क्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कथा पिच पनि यस्तै सहकार्यको अभ्यास थियो। साथमा, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी)को सहयोगमा नेपाली आख्यान र गैरआख्यान परियोजनाका लागि एडिट ल्याबजस्ता गतिविधिसमेत सञ्चालन गरियो। एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी किम्फ २०२४ को एउटा मुख्य आकर्षण बन्यो।

हजारौँ दर्शक सहभागी भएको पाँचदिने महोत्सवमा युवा दर्शकको बढी सहभागिता रहँदै आएको छ। महोत्सवमा नेपाल, भुटान, कोरिया, भारतलगायत देशका फिल्ममेकरहरूसमेत दर्शकका रूपमा सहभागी थिए।

अन्तर्राष्ट्रिय विधा र नेपाल पानारोमाअन्तर्गत महोत्सवमा प्रतिस्पर्धी फिल्म तथा वृत्तचित्र प्रदर्शन भएका थिए। निर्देशक–निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्विट्जरल्यान्ड) किम्फ २०२४ को निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानारोमा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनोट गरे।

किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आइएएमएफ)को सदस्य हो।

See More On

सुझावित समाचार