आगामी वर्षको बजेटमाथि अन्तर्क्रिया सम्पन्न

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

आइबिएन मिडिया एन्ड रिसर्चले आगामी आर्थिक वर्षको बजेटका बारेमा समीक्षा गरेको छ। संस्थाले आइतबार ललितपुरमा सरकारका प्रतिनिधि, अर्थविद् तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बजेट सन्तुलित र समय सान्दर्भिक आएको भन्दै यसको कार्यान्वयनका लागि सरोकारवालाको सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटले मुलुकको आन्तरिक अर्थतन्त्रमा देखिएका राजस्वमा दबाब, माग बढ्न नसक्नु, कर्जा विस्तार हुन नसक्नु, आयात घट्नुजस्ता समस्या सम्बोधन गर्न नसकोको टिप्पणी गरे। अर्थतन्त्रलाई स्थायित्व दिन समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा प्राध्यापक डा. रेशम थापाले कार्यपत्र प्रस्तत गर्दै बजेटले आर्थिक वृद्धि रोजगारी र सुशासन प्रवर्द्धन गर्ने स्पष्ट कार्यक्रम ल्याउन नसकेको धारणा व्यक्त गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले बजेटले व्यवसायीलाई मात्र नभएर आमनागरिकलाई समेत समेट्न नसकेको बताए। बजेटले अर्थतन्त्रमा देखिएको समस्यालाई सम्बोधन गर्न नसकेको र कार्यान्वयनमा समस्या आउने निजी क्षेत्रको बुझाइ रहेको उनले उल्लेख गरे।

उक्त कार्यक्रमले सरकारलाई बजेट कार्यान्वयनमा मार्गप्रशस्त गर्न सहयोग पुग्ने संस्थाको विश्वास छ। कार्यक्रम हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा जेए ग्रुपको सहयोगमा सञ्चालन गरिएको हो।

सुझावित समाचार