‘गाउँ आएको बाटो’को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ २५ जेठदेखि प्रदर्शनमा आउँदै छ। चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम प्रचारप्रसारमा व्यस्त छ।

निर्देशक सुब्बासँगै कलाकार दयाहाङ राई, पशुपति राईलगायत यति वेला मिडिया अन्तर्वार्तामा व्यस्त छन्। चलचित्रको नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन्। उनले चलचित्रमा पार्श्व ध्वनिमा काम गरेकी छिन्। फिल्मको एउटा पार्श्व संगीत पनि हाइडीले नै सिर्जना गरेकी हुन्।

यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन्। फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एकपटक नेपाल आएकी बताइएको छ। यो उनको तेस्रो नेपाल भ्रमण हो।

हाइडीले राई संस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छिन्। फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्।

फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनि निर्माण गरेको हाइडीको भनाइ छ। आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित रहेको उनले बताइन्।

सुझावित समाचार