बसाइँसराइलाई निरुत्साहन, सामुदायिक शिशु स्याहार केन्द्र निर्माणमा जोड

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति  तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने बताए। 

घोराही, लुम्बिनी, बुटवल र नेपालगन्जमा सामुदायिक शिशु स्याहार केन्द्रको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरे। 

जसले गर्दा बच्चा भएकै कारण रोजगार छोड्नुपर्ने आमाहरूको बाध्यता हट्ने विश्वास छ। त्यस्तै, प्रदेश राजधानी देउखुरीमा पनि त्यसका लागि अध्ययन गरिने भएको छ। 

त्यस्तै, २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने गरी १० वर्षे रणनीति बनाउने, सबै सामुदायिक विद्यालयमा किशोरी आत्मरक्षा तालिम प्रदान गरिने, प्रदेशस्तरीय बालसंरक्षण गृह निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश छ।  

त्यस्तै ‘किसानको हात, प्रदेशको साथ’ नारा दिएर उत्पादनमा आधारित अनुदान दिने, प्रविधिमार्फत कृषिको बजारीकरण गर्ने, बुद्ध पर्यटकीय मार्ग : लुम्बिनी–ढोरपाटन–दुनै–जुम्ला–खलंगा–रारा–काँक्रेविहार–कोलपुर–लुम्बिनीको सम्भाव्यता अध्ययन गर्ने तथा अन्तरप्रदेश समन्वय गर्ने, नयाँ निर्माण हुने सडकलाई अपांगमैत्री बनाउने, रामपुर–कपुरकोटलाई स्तरोन्नति गर्ने, दाङको कोइलावास नाकामा खानेपानी विशेष कार्यक्रम सञ्चालन गर्ने  नीति तथा कार्यक्रममा उल्लेख छ।
 
त्यस्तै, पहाडबाट तराई बस्न आउने कार्यलाई निरुत्साहित गर्ने, गाउँमै नमुना बस्ती निर्माण गर्ने, प्रदेशका वनमा उत्पादन भएको काठलाई उचित प्रयोगका लागि सरकारी भवन निर्माण तथा फर्निचरमा लैजानका लागि कानुनी प्रबन्ध गर्ने, प्रदेशभित्र जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतना प्रदान गर्ने, अटिजम भएका बालबालिकालाई स्रोत कक्षा सञ्चालन गर्ने, थोरै विद्यालय, धेरै विद्यार्थी कार्यक्रम चलाउने, कक्षा १२ देखि माथिका विद्यार्थीलाई प्रदेश तथा स्थानीय तहमा इन्टर्नको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश छ। 

प्रदेशभित्र मातृभाषाका रूपमा बोलिने भाषालाई कामकाजको भाषा बनाउने, हिमाली र पहाडी जिल्लाका लागि सुत्केरीकाे उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने, एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश छ। 

सुझावित समाचार