नेपालका अलराउन्डर गुल्सन झा वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टी–२० विश्वकपमा सबैभन्दा कान्छा खेलाडी हुन् । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकपको लागि २५ मेसम्म १५ खेलाडीको सूची पठाउन समयसीमा तोकेको थियो । सहभागी २० राष्ट्रले रिजर्भबाहेक १५ खेलाडीको सूची पठाउँदा गुल्सन १८ वर्ष १०६ दिनका छन् ।
गुल्सनसँगै नामिबियाका पिटर डानियर ब्लिग्नट १८ वर्ष २१८ दिनका छन् । गुल्सनले नेपालबाट २९ टी–२० आई खेलेका छन् । २२ इनिङ्समा उनले एक अर्धशतकसहित तीन सय ६२ रन बनाए । २३ इनिङ्समा बलिङ गर्दा १९ विकेट लिएका छन् । गुल्सनले नेपालको यू–१९ टोलीबाट पनि विश्वकप खेलेका छन् । युवा खेलाडी विश्वकपको उदयीमान खेलाडी बन्न सक्ने अनुमान गरिएको छ ।
ओमानका विकेटकिपर नसिम खुसी विश्वकपका सबभन्दा बढी उमेरका खेलाडी हुन् । उनी ४१ वर्ष २६४ दिनका भए । ओमानकै मोहम्मद नदिम ४१ वर्ष २४० दिनका छन् । समग्रमा विश्वकपमा पाका टोली ओमान दिएको छ । उसको खेलाडीको औसत उमेर ३२ रहेको छ । त्यस्तै, सबभन्दा युवा टिम नेपाल बनेको छ । नेपालको उमेर औसत २३ रहेको छ । नेपालपछि अफगानिस्तानका खेलाडीको औसत उमेर २५ रहेको छ ।
पिटर डानियल ब्लिग्नट, नामिबिया
उमेर : १८ वर्ष २२६ दिन
ब्लिग्नटले नामिबियाबाट जम्मा चार अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दायँहाते बलरले चार खेलमा दुई विकेट मात्र लिएका छन् । उनले नामियबाको यू–१९ उमेर समूहबाट पनि विभिन्न प्रतियोगिता खेलेका छन् । अनुभवी खेलाडीले भरिएको नामिबियाबाट पिटरले प्लेइङ सेटमा स्थान बनाउन भने संघर्ष गर्नुपर्ने देखिन्छ । उनले कीर्तिपुरको त्रिवि मैदानमा नेपालविरुद्ध फेब्रुअरीमा डेब्यु गरेका थिए ।
ज्याक ब्रसेल नामिबिया
उमेर : १९ वर्ष ६४ दिन
दायाँहाते ब्याटर ज्याक ब्रसेल विश्वकपका तेस्रो कान्छा खेलाडी हुन् । उनको उमेर १९ वर्ष ६३ दिन छ । हालसम्म उनले टोलीबाट सात अन्तर्राष्ट्रिय टी–२० खेलेका छन् । जसमा पाँच विकेट लिए । ब्रसेलले नेपालविरुद्ध कीर्तिपुरमा डेब्यु गरेका हुन् । ब्रसेलले विश्वकप खेल्न निकै संघर्ष गर्नुपर्छ ।
मोहम्मद इसाक अफगानिस्तान
उमेर : १९ वर्ष १२३ दिन
अनुवभी खेलाडीले भरिएको अफगानिस्तान टिममा मोहम्मद इसाक कान्छा खेलाडी हुन् । समग्रमा उनी विश्वकप खेल्ने कम उमेरको खेलाडीमा चौथो स्थानमा पर्छन् । १९ वर्षका विकेटकिपरले चार खेल खेल्दा टी–२० आईमा मात्र ७५ रन बनाएका छन् । फेब्रुअरीमा श्रीलंकाविरुद्ध डेब्यु गरेका इसाकले विश्वकपमा पनि अवसर पाउन संघर्ष गर्नुपर्नेछ ।
नुर अहमद अफगानिस्तान
उमेर : १९ वर्ष १५२ दिन
नुर अहमद विश्वकप खेल्ने पाँचौँ कम उमेरका खेलाडी हुन् । १९ वर्षका दायाँहाते बलरले अफगानिस्तानबाट सात टी–२० आई खेलका छन् । सात खेलमा ६ विकेट लिएका छन् । सात इनिङ्समा २७ रन जोडे । यी खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल)को पनि अनुभव बोकेका छन् । टी–२० आईमा भने २०२२ मा जिम्बावेविरुद्ध डेब्यु गरेका हुन् । यद्यपि, राष्ट्रिय टोलीमा कम अवसर पाएका छन् ।
चार्ली टियर स्कटल्यान्ड
उमेर : १९ वर्ष ३५७ दिन
इंल्यान्डको यू–१९ उमेर समूहबाट खेलेका चार्ली टियरले स्कटल्यान्डको सिनियर टोलीमा स्थान बनाएका छन् । इंग्ल्यान्डसँगै उनले स्कटल्यान्डको पनि उमेर समूहबाट खेलेका छन् । विकेटकिपरसमेत रहेको चार्लीले चार खेल खेल्दा ४७ रन बनाए । उनले गत मार्चमा युएईविरुद्ध दुबईमा डेब्यु गरेका हुन् ।
प्रतिश जिसी, नेपाल
उमेर : २० वर्ष १२ दिन
बलिङ अलराउन्डर प्रतिशले नेपालको राष्ट्रिय टोलीको सेटमा पर्न संघर्ष गरिरहेका छन् । पछिल्लो वर्ष टोलीको बेन्च बलियो बनाउन उनको पनि भूमिका रहेको छ । नेपालको यू–१९ टोलीबाट खेलिसकेका प्रतिशले राष्ट्रिय टोलीबाट १० खेल खेल्दै आठ विकेट लिएका छन् । मूलपानी मैदानमा हङकङविरुद्ध २०२३ मा डेब्यु गरेका हुन् । विश्वकपमा प्रतिशले खेल्ने सम्भावना निकै कम छ ।
डेलन लेइचर नामिबिया
उमेर : २० वर्ष ३१ दिन
विश्वकपमा अनुभवी र युवा खेलाडीलाई साथ दिने क्रिममा नामिबिया क्रिकेट बोर्डले डेलनलाई टोलीमा अवसर दिएको छ । उनी कम अवसर पाउने नामिबियाका तेस्रा खेलाडी हुन् । हालसम्म उनले टी–२० आईमा १० खेल खेल्दा ७९ रन बनाएका छन् । लेइचरले युगान्डाविरुद्ध २०२२ मा डेब्यु गरेका थिए ।
नान्गेयाली खारोट अफगानिस्तान
उमेर : २० वर्ष ३९ दिन
नान्गेयाली अफगानिस्ताको ‘ए’ टिम हुँदै सिनियर टोलीमा स्थान बनाएका खेलाडी हुन् । २० वर्षीय यी अलराउन्डरले अफगानिस्तान सिनियर टोलीबाट टी–२० आईमा मात्र तीन खेल खेलेका छन् । बलिङतर्फ पाँच विकेट लिँदा ब्याटिङतर्फ मात्र चार रन बनाए । सारजाहमा गत मार्चमा उनले आयरल्यान्डविरुद्ध डेब्यु गरे । नान्गेयालीको पनि विश्वकप सेटमा खेल्ने सम्भावना कमजोर छ ।
कुशल मल्ल, नेपाल
उमेर : २० वर्ष ९० दिन
आक्रामक हिटर कुशल नेपालका महत्वपूर्ण खेलाडी हुन् । पछिल्लो समय उनी लयमा छन् । ठूलो सट खेल्न माहिर कुशल तेस्रो नम्बरदेखि पछिल्लो क्रमसम्म ब्याटिङ गर्ने सक्ने क्षमता राख्छन् । नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रामा यिनले टी–२० आईमा ३९ खेल खेल्दा एक शतक र एक अर्धशतक बनाएका छन् । यसक्रममा सात सय ७१ रन बनाएका छन् । त्यस्तै, १९ विकेट हात पारिसकेका छन् ।