अन्नपूर्ण आरोहणको ७४औँ वर्ष : ६ देशका राजदूतसहितको पदयात्रा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७४औँ पूरा भएको पुछ। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ। 

सोही दिनको अवसर पारेर नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले परराष्ट्र मन्त्रालयसँगको सहकार्य गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकाको सहयोगमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले आइतबार र सोमबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।

कार्यक्रममा सहभागी हुन इजरायल, चीन, पाकिस्तान, बेलायत, श्रीलंका, थाइल्यान्डका राजदुतहरूसँगै अमेरिका र भारतीय दूतावासका उच्च अधिकार एवं प्रतिनिधिहरू, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)लगायतका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू दिवस मनाउन आइतबार पोखरा आएका छन्। 

दिवस मनाउन आयोजना गरिएको समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रालयका सचिव सेवा लम्सालसमेत सहभागी हुनेछन्।

दिवस मनाउन आइतबार पोखरा आएका विदेशी पाहुनहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै कास्कीको धम्पुस प्रस्थान गरेका बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नवीन पोखरेलले जानकारी दिए। 

पदयात्राका लागि धम्पुस पुगेका उनीहरू त्यहाँबाट धिताल गाउँ हुँदै अस्तामसम्म करिब तीन घण्टाको पदयात्रामा सहभागी भएका उनले जानकारी दिए। पदयात्रा सकेर टोली पोखरा फर्किँदै छ। कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिसँगै विशिष्ट पाहुनाहरूको स्वागतमा आइतबार रात्रिभोज हुँदै छ। 

दिवसको अवसर पारेर सोमबार प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन क्षेत्रका संघ, संस्था, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थितिमा पोखरा आएका विदेशी पाहुनाहरूको स्वागतमा सांस्कृतिक र्याली निकालिनेछ। 

सुझावित समाचार