पुरानालाई दोष थोपरेर जस लिन आएका होइनौँ, परिवर्तनमा सबैको योगदान हुन्छ : मनीष झा

‘सडकमा टायर बालेको र जेल बसेको आधारमा राजनीतिमा उभिएका छैनौं’

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आफूहरू पुराना पार्टीमाथि सबै दोष थोपरेर परिवर्तनको जस लिन नआएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक परिवर्तन बहुआयामिक हुने भएकाले एउटैको योगदानले परिवर्तन सम्भव नहुने प्रस्ट पारे। पुराना पार्टीले परिवर्तनका लागि गरेका संघर्षको कारण आफूहरूले अहिले राजनीतिक अवसर प्राप्त गरेको भन्दै सांसद झाले त्यसका लागि धन्यवाद दिए।

यद्यपि, कोर्स परिवर्तन भएसँगै करिकुलम पनि परिवर्नत गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन। एउटा कपिराईट (प्रतिलिपि अधिकार) र अर्को क्रेडिट (जस) । किनकि कुनै एउटा डाइमेन्सनले चेन्ज हुँदैन राजनीति। कुनै एउटा युद्धले राजनीति चेन्ज भएको पनि छैन । त्यो मल्टिडाइमेन्सनल (बहुआयामिक) हुन्छ। सबैको याेगदान रहन्छ।’

सदन, राजनीति र राज्य व्यवस्थाका विषय आफूहरूले बुझ्ना बाँकी रहेको र बुझ्दै गरेको भन्दै सांसद झाले भने, ‘हामी प्रयास गर्दै छौँ, हामी अरू केही विकल्प नभएर राजनीतिमा आएको होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन। हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटि टायर बाल्यौँ भन्ने आधारमै राजनीतिमा उभिरहेका पनि छैनौँ । हामीसँग अर धेरै आधारहरू  छन्। केही गर्न आएका हौँ, केही गर्ने प्रयास गरिरहेका छौँ ।’

See More On

सुझावित समाचार