हायर पर्चेज कर्जामा राष्ट्र बैंकको निगरानीमा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

हायर पर्चेज कर्जा प्रवाहका लागि स्थापना भएका इन्भेस्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरणको बलियो कानुनमा ल्याई व्यक्ति वा संस्थाको शंकास्पद आर्जनलाई सवारीसाधनमा लगानी गर्नबाट रोक लगाउने उद्देश्यले राष्ट्र बैंकले थाल्यो नियमन 

व्यावसायिक प्रयोजनका सवारीसाधन (ट्रक, बस, ट्रिपर, हेभी इक्विपमेन्ट, ट्र्याकरलगायत) र कृषि मेसिनरीलाई प्रदान गरिने हायर पर्चेज कर्जामा राष्ट्र बैंकले उच्च निगरानी राख्ने भएको छ ।

हायर पर्चेज कर्जा प्रवाहका लागि स्थापना भएका इन्भेस्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरणको बलियो कानुनमा ल्याई व्यक्ति वा संस्थाको शंकास्पद आर्जनलाई सवारीसाधनमा लगानी गर्नबाट रोक लगाउने उद्देश्यले राष्ट्र बैंकले नियमन गर्न लागेको हो ।

यो नियम लागू भएपछि हायर पर्चेज कर्जा दिने कम्पनीले प्रत्येक लगानीको विस्तृत विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । एउटा व्यक्ति वा कम्पनीलाई एक दिनमा १० लाख र एक वर्षमा ३० लाखभन्दा बढी कर्जा प्रदान गर्दा ग्राहकको सम्पूर्ण विवरण लिने र राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

हायर पर्चेज कर्जामा लगानी गर्ने कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ मा तोकिएका व्यवस्थाको पूर्ण पालना गराउने तथा राष्ट्र बैंकले गरेको व्यवस्थासमेत मानेर मात्रै कारोबार गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ ।

यो व्यवस्थामार्फत राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनमा ग्राहक पहिचान र सम्पुष्टिमा कडाइ गरेको छ । राष्ट्र बैंकको निर्देशनपछि अब हायर पर्चेज कर्जा दिने कम्पनीले अस्वाभाविक वा शंकास्पद कारोबार गरेको आशंका लाग्ने ग्राहकको बृहत् पहिचान लिएर राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।

हायर पर्चेज कर्जा प्रदान गर्ने कम्पनीले लगानी गर्नुअघि सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २९ (ङ)को व्यवस्थाअनुसार आतंकवादी क्रियाकलापमा संलग्न व्यक्ति, समूह वा संगठन तथा आमविनाशका हातहतियार निर्माण, विस्तार वा त्यसमा लगानी गर्ने व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने सम्बन्धमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाट पारित निर्णयबमोजिम सूचीकृत भएका व्यक्ति, समूह वा संगठनको अद्यावधिक सूची परिचालन गर्नुपर्ने भएको छ ।

उच्चपदस्थलाई कर्जा प्रवाह गर्दा थप कडाइ गर्नुपर्ने राष्ट्र बैंकको सर्कुलर छ । सामान्यतया हायर पर्चेजका लागि सवारीसाधन आयातकर्ताले नै सहायक कम्पनी खोलेर कर्जा प्रवाह गरिरहेका छन् ।

सुझावित समाचार