सशस्त्र प्रहरीद्वारा सुनसरीबाट स्राेत नखुलेकाे एक करोड एक लाख नगद बरामद

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

सुनसरीबाट जेठ १९ गते शनिबार राति सशस्त्र प्रहरीले हुन्डीको आशंकामा एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ।

सुनसरी जिल्लाको  हरिनगर गाँउपालिका- ५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा.१६च ७६१३ नम्बरको कारलाई शंका लागी चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा एक हजार दरको नोट नाै हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (चार लाख) रहेको छ । रकमसँगै कार र  चालक सुनसरी जिल्ला  हरिनगर गाउँपालिका- ५  बस्ने अन्दाजी वर्ष ३७ को इशा अन्सारीलाई सशस्त्रले  नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्राेत खुलाउन सकेका छैनन् । नगद रकम, कार र चालकलाई थप अनुसन्धान  तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार