यार्सा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

मुगुका पाटनमा यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ भने एकजना सिकिस्त बिरामी परेका छन्।

जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका दुई युवकको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा छायानाथ-रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा र सोही नगरपालिका–१२ कै कम्फा गाउँका शोभान बुढा रहेकाे सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार लेक लागेर दुईजनाको मृत्यु भएको र सिकिस्त बिरामी भएका अर्का एकजनालाई पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरिएको छ। चिसो र लेक लागेर सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई मुगु गाउँतर्फ ल्याउँदै गरिएको हो।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीनजनाको हिउँ पहिरोमा परेर र एकजनाको खोलामा खसेर मृत्यु भएको थियो। यही वर्ष वैशाखमा पनि एकजनाको ज्यान गएको थियो।

सुझावित समाचार