अफगानिस्तानको पूर्वी नंगरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुंगा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन्।
पूर्वी नंगरहारको मोमन्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान ७ बजे महिला तथा बालबालिका बोकेको डुंगा नदीमा डुबेको प्रान्तका सूचना विभागका प्रमुख कुराइसी बद्दलुनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सार्वजनिक गरेका छन्।
अधिकारीका अनुसार दुर्घटनामा परेका पाँचजना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
नंगरहार सूचना तथा संस्कृति विभागले मिडियालाई दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन्।
कम्तीमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताए।
नजिकैको पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायः खराब अवस्थामा डुंगा प्रयोग गरेर नियमित रूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ।