आयल निगमको डिपो प्रमुख हेरफेर : भैरहवामा भुसाल, धनुषामा मनोज कुमार

आयल निगम व्यवस्थापनले यसपटक ‘बेमौसम’ मा कार्यालय प्रमुखको जिम्मेवारी हेरफेर गरेकाे छ

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा र धनुषाको महेन्द्रनगरस्थित शाखा कार्यालय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। भैरहवा डिपोमा कार्यरत कमला न्यौपानेलाई केन्द्रीय कार्यालयमा सरुवा गरी त्यहाँ शैलेन्द्र भुसाललाई पठाइएको छ। त्यस्तै, भैरहवा डिपोको अप्रेसन विभागमा कार्यरत श्रीधर लामिछाने, केशव गौतम, कुम्भराज जोशी र अजय पासवानको पनि सरुवा भएको छ।

स्रोतका अनुसार लामिछाने र गौतमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय, जोशीको नेपालगन्जस्थित इन्धन डिपो र पासवानको कोशी प्रादेशिक कार्यालय, विराटनगर सरुवा भएको छ। पुरानो कर्मचारीको सेट नै परिवर्तन भएकाले नयाँ डिपो प्रमुख भुसालले अप्रेसन हेर्ने गरी सुरेन्द्रसिंह विष्ट र बालकृष्ण रायमाझीको भैरहवा सरुवा गराएर आफूसँगै लगेका छन्।

त्यस्तै, जनकपुर क्षेत्रमा इन्धन वितरण गर्ने महेन्द्रनगर कार्यालय प्रमुख दिलीप चौधरीलाई केन्द्रीय कार्यालय तानिएको छ। सिनामंगलस्थित हवाई इन्धन कार्यालयमा कार्यरत मनोज कुमारलाई महेन्द्रनगर कार्यालय प्रमुखमा सरुवा गरिएको स्रोतको भनाइ छ। प्रबन्धक मनोज कुमार सिनामंगलमा कामविहीन अवस्थामा थिए।

उनी यसअघि पनि महेन्द्रनगर डिपो कार्यालय प्रमुख भएर काम गरिसके पनि विवादमा तानिएका थिए। धनुषा र वीरगन्ज कार्यालय प्रमुख भइसकेका उनले पेट्रोल पम्प सञ्चालक र ढुवानीकर्तासँग समन्वय गर्न नसक्ने आरोप खेप्दै आएका छन्।

आयल निगम व्यवस्थापनले यसपटक ‘बेमौसम’ मा कार्यालय प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो। विगतमा आर्थिक वर्षको अन्त्यमा वा दुईवर्षे कार्यकाल पूरा भएको अवस्थामा असोज र फागुनमा डिपो प्रमुखको नियमित सरुवा हुने गरेको थियो।

तर, भैरहवा र धनुषा डिपो सञ्चालनमा गुनासो बढ्न थालेकाले आकस्मिक सरुवा भएको स्रोतको भनाइ छ। ‘धनुषाका पेट्रोल पम्पले तोकिएभन्दा बढी मूल्यमा पेट्रोल–डिजेल बिक्री गर्दा पनि नियमन हुन नसकेको गुनासो केन्द्रीय कार्यालयमा आएको थियो,’ स्रोतले भन्यो, ‘भैरहवा डिपोमा पनि इन्धन अपचलन हुने गरेको र कर्मचारीबीच समेत आपसी मनमुटाव बढेको गुनासो आएको थियो।’ भैरहवा डिपो प्रमुख न्यौपानेले पछिल्लो समय सरुवासमेत माग गरेपछि जिम्मेवारी हेरफेर भएको स्रोतको भनाइ छ।

सुझावित समाचार